राजनीति

देश टुक्राउने तत्वहरू सल्बलाउँदै छन् : गृहमन्त्री थापा

सर्लाही– गृहमन्त्री रामबहादुर थापाले देश टुक्राउने तत्वहरु सल्बलाएका बताएका छन्। मंगलबार जिल्लाको दक्षिणी क्षेत्रस्थित दोस्रो ऐतिहासिक मूर्तिया मुक्तेश्वर महोत्सव उद्घाटनमा मन्त्री थापाले भने, ‘वर्तमान राज्यसत्ता अनि संघीय गणतन्त्रलाई उल्टाउने खेल भइरहेको छ’, गृहमन्त्रीले दाबी गरे, ‘मधेश र नेपालका विभिन्न ठाउँमा देश टुक्रयाउनेहरु बढेका छन्।’ 

विगतमा जहानिया शासन गर्दै आएकाहरु वर्तमान शासन व्यवस्था उल्टाउने खेलमा लागेका उनको आरोप थियो। मन्त्री थापाले त्यसप्रति सबै नेपालीलाई सजग हुनसमेत उनले आग्रह गरे। ‘आम नेपालीले विश्वास गरेर जिताएको वर्तमान दुई तिहाईको सरकार विघटन गर्न एकातिर विदेशी चलखेल भइरहेको छ भने अर्कोतिर निर्वाचनमा पराजित शक्ति पनि लागिपरेको छ’, मन्त्री थापाको दाबी थियो, ‘मुलुकको समृद्धि र आम नेपाली जनताको खुशीका लागि अनवरत काम गरिरहेको सरकारविरुद्ध लाग्नेबाट तपाईंहरु सचेत हुनु जरुरी छ।’

मन्त्री थापाले ठूलो संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त संस्थागत गर्दै जातीय एवं भाषिक रुपमा सबैलाई एकीकृत हुन उनले आग्रह गरे। शान्ति सुरक्षाबिना मुलुकले विकास र समृद्धि प्राप्त गर्न नसक्ने हुँदा मजबुत सुरक्षा व्यवस्थाका लागि कार्ययोजनासहित गृह मन्त्रालय लागिपरेको मन्त्री थापाले बताए। 

प्रकाशित: २२ माघ २०७५ १२:४० मंगलबार

विखण्डनकारी गृहमन्त्री देश