राजनीति

राजनीतिक परिपाटी नसुध्रिएसम्म मुलुक बन्दैन : डा भट्टराई

रामेछाप- नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले मुलुकमा असल राजनीतिक परिपाटी नभएसम्म विज्ञताले मात्र मुलुकमा परिवर्तन सम्भव नहुने बताएका छन्। मंगलबार रामेछाप सदरमुकाम मन्थलीमा नयाँ शक्तिले आयोजना गरेको कार्यक्रममा नेता भट्टराईले समृद्ध मुलक बन्न राजनीति परिपाटी पनि बदलिनुपर्नेमा जोड दिए।

मुलुकको मिश्रित संसदीय प्रणालीले राजनीतिक निकास नदिने र स्थिरता कायम नहुने उनले दाबी गरे। भने, ‘राज्यका सबै निर्णय तहमा जनताको संलग्नता हुनुपर्छ म त्यो प्राप्तिका लागि अभियानमा छु।’ समुन्नत र समानुपातिक लोकतन्त्रको स्थापनाका लागि आफ्नो अभियान निरन्तर जारी रहेको भट्टराईले दोहोर्‍याए। मुलुकमा क्रान्ति कमजोर भएकोले जुन किसिमले प्रगति हुनपथ्र्यो त्यो नभएकाले मुलुक समस्यामा परेको भट्टराईको धारणा थियो। मुलुको आगामी राजनीतिको दिशा प्रष्ट नभएको उल्लेख गर्दै उनले नेपालको अर्थतन्त्रको प्रगति हवाईजहाजको उडानसरह हुनुपर्ने बताए। हिजोका त्रान्तिकारीहरु सत्तामा पुग्दा पनि परिवर्तन हुन नसकेको र उनीहरुले आँट नै गर्न नसकेको बताउँदै उनले पुरानै संरचनामा रहेर काम गरिरहँदा समस्या देखापरेको बताए। मुलुकमा यतिबेला सबैलाई गुलियो चटाएर देश डुबाउने चलखेल भइरहेको उनको आरोप छ। राजनीतिकर्मीहरू विभिन्न खेलमा पर्दा राजनीति नै प्रदूषित बनेकाले त्यसलाई शुद्धीकरण गर्न जरुरी रहेको बताए।

मुलुक किन पछि प¥यो भन्नेमा समीक्षा हुन जरुरी रहेको नेता भट्टराईले बताए। भने, ‘मुलुक विगतमा जुन किसिमले अघि बढनुपर्ने हो त्यसरी अघि बढ्न सकेको छैन।’

भट्टराई यतिबेला असल राजनीति र समावेशी विकासका लागि जनसंवाद भन्ने मुल नारा लिएर मध्यपहाडी (पुष्पलाल) लोकमार्ग चिवाभन्ज्याङ पाँचथरदेखि झुलाघाट बैतडीसम्मको यात्रामा छन्।  

प्रकाशित: २२ माघ २०७५ १२:०३ मंगलबार

नयाँ_शक्ति बाबुराम_भट्टराई राष्ट्रिय_यात्रा