राजनीति

मधेस आन्दोलनका सहिद सम्झन मधेसवादी दलको लुकामारी

फाइल तस्बिर

सर्लाही - २०६३/६४ को मधेस आन्दोलनका क्रममा सहादत प्राप्त गरेका ५ जना सहिदको स्मृतिमा सोमबार सदरमुकाम मलंगवामा दुई मधेसवादी दलले लुकामारी हिसाबले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरे। मधेस र मधेसीको हक अधिकारका लागि बलिदानी दिएका सहिदको सम्मानमा कार्यक्रम गर्न मधेसवादी दलहरू नै एकैठाउँ अटाउन सकेनन्। आफूहरू नै मधेसको सच्चा शक्ति भएको बताउने राष्ट्रिय जनता पार्टी नेपाल तथा संघीय समाजवादी फोरमका नेता कार्यकर्ताले छुट्टाछुट्टै कार्यक्रम गरी सहिद दिवस मनाएका हुन्।

तत्कालीन मधेसी जनअधिकार फोरमको आह्वानमा भएको मधेस आन्दोलनका क्रममा २०६३ माघ २० गते हरिवनमा दुईपक्षबीच झडप हुँदा रामएकवाल रायको मृत्यु भएको थियो भने २१ गते सदरमुकाम मलंगवामा सुरक्षाकर्मीको गोली लागी ४ जनाको मृत्यु भएको थियो। २१ गते सहादत प्राप्त गर्नेमा दिनेश राय, आसिक अली मिकरानी, सञ्जय राय, रामनारायण साह रहेका थिए।

हरेक वर्ष मधेसवादी दलले माघ २१ गतेका दिन सर्लाहीमा सहिद दिवस मनाउने गरेका छन्। मधेसको हक अधिकारका लागि मृत्युवरण गरेका सहिदको सम्मान र सम्झनाका लागि मधेसवादी दलहरुबीच भने एउटै समारोह बन्न सकेको छैन। सोमबार बिहान संघीय समाजवादी फोरमका नेताकार्यकर्ताले जिविस चोकमा रहेको ५ जना शहिदको शालिकमा माल्यार्पण गरेका थिए। सोही अवसरमा पाँचैजना सहिद परिवारलाई दोसल्ला ओढाएर सम्मानसमेत गरिएको फोरमका अध्यक्ष वीरेन्द्र रायले जानकारी दिए। कार्यक्रममा प्रदेश सांसद अशोककुमार यादवसहित जिल्लास्थित फोरमका नेता कार्यकर्ताको उपस्थिति थियो।

यता राजपा नेपालले भने अध्यक्षमण्डलका संयोजक महेन्द्र राय यादवको प्रमुख आतिथ्यतामा जिविस मण्डपमा दिउँसो कार्यक्रम गरी बलिदानी दिवस मनाएको छ। जिल्ला समन्वय समितिका संयोजक एवं मूल कार्यसमिति राजपा नेपाल सर्लाहीका संयोजक मेथुर चौधरीको अध्यक्षता रहेको कार्यक्रममा प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साह, उद्योगमन्त्री रामनरेश राय, प्रतिनिधिसभा सदस्य प्रमोद साहलगायत राजपा नेताको उपस्थिति थियो। राजपा नेताहरूले पनि जिविस चोकस्थित सहिदहरूको शालिकमा माल्यार्पण गरेका थिए। सोही अवसरमा जपा अध्यक्षमण्डलका संयोजक रायले सदरमुकाम मलङ्गवास्थित शिवसागर चोकमा पछिल्लो मधेस आन्दोलनमा ज्यान गुमाएका मलङ्गवाका नागेन्द्र ठाकुर र हरिपुरका राधिका देवीको शालिक समेत शिलन्यास गरेका छन्।

संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष वीरेन्द्र रायले राजपाले समन्वय नै नगरेकाले आफूहरूले छुट्टै कार्यक्रम गर्नुपरेको बताए। ‘हामीहरूसँग कुनै छलफल नै नगरी राजपाका साथीहरूले पहिला नै कार्यक्रम घोषणा गर्नुभयो,’ रायले भने, ‘त्यसैले हामीले आफ्नै ढंगले मनायौं।’ मधेस र मधेसीको हकअधिकारका लागि लड्ने दुवै दलले एउटै कार्यक्रम गरी मधेसी सहिद दिवस मनाउन नसक्नु बिडम्बना भएको उनले बताए। ‘मधेस र मधेसीको हक अधिकारका लागि लडेका शक्तिले एउटै कार्यक्रममार्फत मधेसी सहिद दिवस नमनाउँदा बाहिर गलत सन्देश जान्छ नै,’ उनले भने, ‘आ–आफ्नो हिसाबले छुट्टाछुट्टै मनाउँदा पनि खासै फरक त पर्दैन।’

यता राजपा नेपालले आयोजना गरेको कार्यक्रमका संयोजक एवं जिल्ला समन्वय समितिका संयोजक मेथुर चौधरी भने फोरमका नेता कार्यकर्तालाई खबर गरे पनि सहभागिता नजनाएको बताए। ‘उहाँहरूलाई खबर गरिएको थियो,’ चौधरीले भने, ‘खै तर किन आउनु भएन।’ यसअघि मधेसको हकहितका लागि भन्दै क्रियाशील तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय सर्लाहीकै हुन्। पछिल्लो समय यी तीनवटै दलसहित ६ वटा मधेसवादी दल मिलेर राजपा नेपाल गठन भइसकेको छ।

प्रकाशित: २२ माघ २०७५ ०१:३४ मंगलबार

मधेस_आन्दोलन सहिद मधेसवादी_दल