राजनीति

राप्रपाद्वारा संघर्षका कार्यक्रम घोषणा

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। राप्रपा केन्द्रीय कार्यसमितिको बैठकले हिन्दुराष्ट्र पूर्नस्थापना लगायतका मागहरु राखी फागुन ७ गतेबाट जनसंघर्ष गर्ने कार्यक्रम सार्वजनिक गरेको हो। जस अन्तर्गत फागुन ७ गते उपत्यकामा प्रधानमन्त्री, प्रदेश राजधानीहरुमा मुख्य मन्त्री र जिल्ला सदरमुकामहरुमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइनेछ।

सनातन हिन्दुराष्ट्र पूनस्र्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना, महिला विरुद्धको हिंसा, जातिय विभेद र छुवाछुत अन्त्यका लागि राप्रपाले आगामी फागुन १५ गतेदेखि ३० सम्म ताप्लेजुङ्ग देखि कञ्चनपुर हुँदै काठमाण्डौसम्म मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गर्ने जनाएको छ। शान्तिपूर्ण जनसंघर्षको स्वरुप र विस्तृत कार्यक्रम फागुन ३० गते हुने राष्ट्रिय स्वाभिमान यात्राको समापन समारोहमा घोषणा गरिने बैठक पछि जारी विज्ञप्तमा भनिएको छ।

नेपाली इतिहासमै पहिलोपटक देश टुक्र्याउन चाहने विखण्डनकारी शक्ति सतहमा देखिएको राप्रपाको बुझाइ रहेको छ। यस समूहले तराईका विभिन्न भागमा अराजकता सिर्जना गर्ने सम्भावना रहेको उसले बताएको छ। उपरोक्त सम्भावनालाई दृष्टिगत गर्दै राष्ट्रिय अखण्डताको रक्षा, सुरक्षा संवेदनशीलता जस्ता विषयमा गम्भिर बन्न, यस्ता गतिविधि कडाईका साथ नियन्त्रण गर्न र विखण्डनको गतिविधिमा दृढतापूर्वक उभिन राप्रपाले सरकारसँग माग गरेको छ।

प्रकाशित: २१ माघ २०७५ १०:०२ सोमबार

राप्रपा आन्दोलन कार्यक्रम