राजनीति

सिरहा पुगेर ओलीले भने : विकासले मधेसको कायापलट हुन्छ

सिरहा– प्रधानमन्त्री केपी ओलीले छिटै देशबाट निरक्षरता उन्मुलन हुने उद्घोष गरेका छन्। निरक्षरता उन्मुलन अभियानकै रुपमा देशभर सञ्चालन भएकोले छिटै उन्मुलन हुने उनको भनाई थियो। 

‘यस जिल्लाबाट निरक्षरता उन्मुलन गर्नका लागि मैले पहलकदमी लिएको छु प्रधानमन्त्री ओलीले भने, ‘बैशाख ५ गते यसै जिल्लाका दुई जना बालबालिकालाई विद्यालय भर्ना गरेर मैले अभिभावकत्व पनि ग्रहण गरेको छु। अब देशबाटै निरक्षरता उन्मुलन हुन्छ।’ विद्वानहरुका सन्तती हामी कसरी निरक्षर हुन सक्छौं? उनले प्रष्ट्याए, ‘७५३ स्थानीय तहमा विद्यालय भर्ना अभियान मार्फत विद्यालय हाताबाहिरका बालबालिकालाई विद्यालय भर्ना गराउने कार्यक्रम जोडतोडले सुरु छ।’ 

प्रधानमन्त्री ओलीले वृद्धवृद्धाको भत्ता खै बढ्यो भनेर विपक्षीहरु उचाल्दै छन भन्दै उनले प्रष्ट्याए, ‘अघिल्लो सरकार(अहिलेका प्रतिपक्षी)ले देशको ढुकुटी रित्याएका कारण हामीलाई पर्खिनु परेको हो। उनले थपे, ‘आउने आर्थिक वर्षमा वृद्धभत्ता अवश्य बढ्छ। सरकारले बृद्ध भत्ता बढाउँछ।’

तराई मधेसको विकासका लागि सरकारले विभिन्न योजनाहरु ल्याएको उनले बताए। शहीद हेमनारायण यादवको १५ औं स्मृतिसभालाई शनिबार सिराहामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तराई मधेसको कायापलटका लागि सरकारले विभिन्न क्षेत्रमा विभिन्न योजना अघि बढाएको बताए। प्रधानमन्त्री ओलीले मधेसमा विभिन्न हल्ला चलाइए पनि सरकारका कामले ती सबै हल्लाको जवाफ दिएको छ, दिँदैछ भने। मधेसमा अनेक हल्ला चलाइएका छन् तर सरकारको कामले ति सबैको जवाफ दिँदै गएको छ, उनले भने, ‘हुलाकी सडकको निर्माण, काठमाण्डौं बद्रिवास द्रुतमार्ग, निजगढ अन्तराष्ट्रिय विमानस्थलको निर्माण, तराई मधेस समृद्धि कार्यक्रमजस्ता मधेस विकासका कार्यक्रम सञ्चालन भएका हुन्। केही दिन अघि झापाको भद्रपुर विमानस्थल झलमल्ल भएजस्तै जनकपुर विमानस्थल पनि झलमल्ल हुनेछ।’

प्रधानमन्त्री ओलीले मधेसलाई काठमाडौंसँग जोड्ने द्रत मार्ग, निजगढ विमानस्थल, कमला कोशी  डाइभर्सनबाट मधेसको खेती जमीनलाई सिंचाई गर्ने योजनाका कामहरु धमाधम सुरुवात हुँदा प्रतिपक्षीहरु चकित परेको बताए। यसैगरी तराईका जिल्लाका सदरमुकाम जोड्ने सडकहरुको स्तर बृद्धि र हुलाकी राजमागको निर्माणका लागि आफू अघिल्लो पटक प्रधानमन्त्री भएका बेला सुरुवात गरिएको र द्रुत गतिमा काम भइरहेको उनले बताए। मधेसको भौतिक विकास मात्र होइन सामाजिक विकासका लागि पनि आफू क्रियाशिल रहेको प्रधानमन्त्री ओलीको भनाई छ। केहि वर्षभित्रै विकासले मधेसको कायापलट हुने उनले बताए। 

मधेसको जीवनरेखा भनिने हुलाकी राजमार्ग, सप्तरीमा मेडिकल कलेज, कमला कोशी डाइभर्सनमार्फत सिँचाई जस्ता मधेस विकाससँग जोडिएका मुद्दामा यो सरकारको प्राथमिकता छ उनले भने, ‘मधेस झलमल्ल बनाउनेगरि विकासका योजना ल्याउने कसरी मधेस विरोधी हुन सक्छ?’ उनले यसरी प्रष्ट्याए, ‘तीन महिनाभित्र जनकपुरको विमानस्थल झलमल्ल हुन्छ, रात्रीकालिन उडान सुरु हुन्छ।’ 

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ७५३ वटा पालिकाहरुमा अधिकारी खटाइएको छ उनले भने, ‘१०० दिनको रोजगारी दिन्छौ, दिननसके बेरोजगारी भत्ता दिन्छौ।’

भदौ २ गत्ते प्रदेश २ को प्रदेश सभामा विशेष सम्बोधन मार्फत मधेसमा स्वीकार्यता बढाउन सुरुवात गरेका प्रधानमन्त्री ओली शनिबार कोर मधेसको सिरहामा खुल्ला सभा सम्बोधन गरेर आफु मधेस विकासको सूत्रधार भएको सन्देश फैलाएका छन्। प्रधामन्त्री ओलीले आफ्नो सम्बोधनको क्रममा मधेस विकासप्रती पटक पटक प्रतिवद्धता दोह-याएका थिए। उनले आफु मधेस विरोधी नभएको प्रष्टिकरण समेत दिए। 

२०६० साल माघ १९ गते तत्कालिन नेकपा (एमाले) सिराहा जिल्लाका अध्यक्ष एवं सांसद हेमनारयण यादवको धनुषा र सिराहाको सिमाना पर्ने कमला खोलामा रहस्यमय हत्या गरिएको शव फेला परेको थियो। उनको हत्यामा संलग्न अझै सार्वजनिक भएको छैन्। 

यादवको पहिलो श्रद्धाञ्जली सभामा तत्कालिन एमाले नेतृत्वले हत्यारा पत्ता लागिसकेको र पर्दा मात्र उघार्न बाँकी रहेको भन्दै व्यतm गरको धारणा यादव परिवारमा ताजै छ। तर हेमनारायणको हत्यामा संलग्न आरोपी अझै सार्वजनिक भएको छैन्। 

हेमनारायण यादवका छोरा डा.नविन यादवले भने, ‘बुवाको हत्याका दोषीउपर कारबाही भएको देख्न चाहन्छु। हामी निसाफको आशामा छौं।’

प्रकाशित: १९ माघ २०७५ १५:१० शनिबार

विकास मधेस केपी_शर्मा_ओली