राजनीति

'अधिनायकवाद चरित्र नसच्याइए सडकबाटै ओली सरकार ढाल्छाैं'

तरुण दलद्वारा आयोजित विराेध सभा। तस्बिर : रेखा/नागरिक

बुटवल - राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएको विरोधमा नेपाल तरुण दलले बुटवलमा शनिबार प्रदर्शन गरेको छ। सर्वसुलभ स्वास्थ्य सेवा र शिक्षा पाउनुपर्ने आम नागरिकको नैसर्गिक अधिकार हनन् हुने प्रावधानसहितको स्वास्थ्य शिक्षा विधेयक पारीत भएपछि त्यसको विरोधमा उत्रिएको तरुण दलले बताएको छ।

प्रदेश स्तरीय विरोध प्रदर्शन तथा खबरदारी सभामा तरुण युवाहरुको उल्लेख्य सहभागिता रहेको थियो। बुटवलको राजमार्ग चौराहमा गरीएको विरोध सभामा बोल्ने तरुण नेताहरुले दुई तिहाईको दम्भमा संविधान कुल्चने र कम्युनिष्ट शासन स्थापित गर्ने दाउमा सरकार उद्दत रहेको आरोप लगाए। राज्यबाटै अपराधीलाइ संरक्षण गरिँदा हत्या हिंसा, बलात्कार लगायतका घटना बढेको उनीहरुले आरोप लगाए। तरुणका केन्द्रीय तथा प्रदेशका शीर्ष नेताहरुले अधिनायकवाद र सर्वसत्तावाद चरित्रलाई ओली सरकारले नसच्याए तरुण युवाहरुले सडकबाटै ओली सरकार ढालिदिने चेतावनी समेत दिए।

तरुणका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले अन्याय, अत्याचारी र भ्रष्टाचारीलाई ठेगान लगाउन चट्टानी शक्ति लिएर तरुण युवाहरु तयारीका साथ सडकमा ओर्लिएको बताए। "हामीले राणा र राजा फालेम। पञ्चायत फालेम, अव अन्तिम पटक कम्युनिष्टसँगको लडाइँका लागि तयारीका साथ आउँदैछाैं", अध्यक्ष बस्नेतले भने। पर्यटन मन्त्री रविन्द्र अधिकारीलाई ४ अर्ब खाने वाइडबडी अधिकारीको संज्ञा दिदै अध्यक्ष बस्नेतले प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालकै डिजाइनमा ३८ क्वीन्टल सुन गायब पारीएको आरोप लगाए। एकजना सत्याग्रहीको जायज मागलाई कुल्चदै गरीब, निमुखा जनताको अहितमा रहेको विधेयक जबरजस्ती पास गरेर सरकारले संसदीय व्यवस्थालार्इ ठाडो चुनौती दिएको उनले आरोप लगाए। कम्युनिष्टहरुसँग मुख्य लडाई लड्नुपर्ने बेला भएकाले पार्टी भित्रै आपसमा बिभाजित नहुन पार्टी नेतृत्वलाई उनले आग्रह समेत गरे। 

राष्ट्रिय_चिकित्सा_शिक्षा_विधेयक नेपाल_तरुण_दल बुटवल प्रदर्शन