राजनीति

जग्गा बाँझो नराख्न सामूहिक खेती गरौं : मन्त्री लामा

कृषिसम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी उद्घाटन समारोहका सहभागी। तस्बिर : सविता/नागरिक

चितवन - प्रदेश नम्बर ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दाबादोर्जे लामाले सामूहिक खेतीमा जोड दिनुपर्ने बताएका छन्। सामूहिक खेतीको अवधारणा अघि बढाउन प्रदेश सरकारले कार्यविधि पास गरेको जानकारी उनले दिए। कृषिसम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनीको शुक्रबार भरतपुरमा उद्घाटन गर्दै मन्त्री लामाले यस्तो जानकारी दिएका हुन्। उनले सरकारले सामूहिक खेतीलाई प्रोत्साहन गर्ने पनि बताए।

सामूहिक खेती गर्दा पहाडको जग्गासमेत बाँझो नरहने बताउँदै उनले सामूहिक खेती गर्ने किसानलाई प्रदेश सरकारले प्रोत्साहन गर्ने जानकारी गराए। ‘हिजोको खेती प्रणाली निर्वाहमुखी थियो। अहिले पनि त्यही प्रणालीमा चलिरहेका छौं’, उनले भने, ‘सामूहिक खेती सुरु भएपछि पुरानो चलन हट्छ। यसले जग्गा बाँझो रहँदैन। सामूहिक खेती गर्दा किसानको आम्दानीसमेत बढ्नेछ।’ सम्भावना बढी रहेकाले धेरैको ध्यान चितवनमा आकर्षित भएको उल्लेख गर्दै उनले यहाँ जमिन प्रशस्तै रहेकाले सामूहिक खेती गरेर जमिनको उपयोग गर्न सकिन्छ। जिल्लाको बस्ती नभएका पहाडी भागमा फलफूल र समथर भागमा खाद्यान्न, तरकारी, माछापालन गर्न सकिने उनले बताए। ‘सबै मिलेर सामूहिक खेतीका लागि अभियान चलाउनुपर्छ। सरकारले यान्त्रीकरणमा सहयोग गर्छ। यति भए जग्गा बाँझो रहँदैन। उत्पादन पनि बढ्छ’, उनले भने।

सामूहिक रुपमा यान्त्रीकरणबाट खेती गर्दा उत्पादन बढ्नुका साथै खर्च पनि घट्ने उनको भनाइ थियो। प्रदेश सरकारको सहयोगमा सिन्धुलीमा १२१ बिघा जमिनमा सामूहिक खेतीको कामसमेत सुरु गरिसकेको उनले जानकारी गराए। ‘सामूहिक खेतीले व्यावसायिक खेती प्रणालीको ढोका पनि खुल्छ। खेती नगर्नेले खेती गर्नेलाई भाडामा जग्गा दिन सक्छन्। निजी क्षेत्र र सहकारीलाई पनि देश निर्माण सरकारले सँगसँगै अघि बढाउने भएकाले सामूहिक खेतीमा पनि निजी र सहकारी क्षेत्रबाट लगानी गर्नुपर्छ,’ उनले भने। खाद्यान्न आयात रोक्न मुलुकभित्रै उत्पादनको बजारीकरण र भण्डारणमा ध्यान दिनुपर्नेमा उनले जोड दिए। कृषि प्रदर्शनीले कृषिलाई उत्पादनमुखी, व्यावसायिक र आधुनिकीकरणतर्फ लैजान सहयोग गर्ने उनले बताए।

तेस्रो बृहत् कृषि प्रदर्शनी भरतपुर महानगरपालिका १० स्थित चितवन प्रदर्शनी केन्द्रमा सुरु भएको छ। मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टस् भारतको आयोजनामा भएको प्रदर्शनी १३ गतेसम्म सञ्चालन हुनेछ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, नेपाल कृषि सहकारी केन्द्रीय संघ, नेपाल पोल्ट्री महासंघ, चितवन उद्योग संघ, राष्ट्रिय कृषक समूह महासंघ, अखिल नेपाल किसान महासंघ र नेपाल युवा परिषद्को सहकार्यमा प्रदर्शनी आयोजना गरिएको हो। प्रदर्शनीमा नेपाल, भारत, चीन, इजरायल, ताइवान, मलेसिया, इटाली पोल्यान्ड, अर्जेन्टिनालगायत १५ देशका कृषि र कृषि प्रविधीका १५० स्टल राखिएका छन्। प्रदर्शनीमा कृषि, पोल्ट्री, डेरीका स्टल राखिएका छन्।

प्रदर्शनीले कृषिलाई आधुनिकिकरण गर्न सहयोग हुने नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम पाठक बताउँछन्। कृषिमा प्रयोग भएका नयाँ प्रविधी, उपकरण र यन्त्रको प्रयोग बारे जानकारीसँगै सामग्रीको पाउने ठाउँका बारेमा समेत प्रदर्शनीबाट जानकारी लिन सकिने उनले बताए। संघ अन्तर्गत १० हजार कृषि सहकारी रहेको बताउँदै उनले भने, ‘सबै सहकारीका गरि करीब १० लाख किसान आबद्ध छन्, ४५ अर्ब बराबरको पुँजी परिचालन भएको छ।’
विदेशबाट भईरहेको कृषि उत्पादनको आयात रोक्न कृषिमा लाग्ने संस्थाको पनि दायित्व भएकाले सबैले दायित्व निर्वाह गर्नुपर्ने उनले बताए। प्रदर्शनीको अवलोकन गरेर कृषिको व्यवसायिकरण गर्ने सँगै कृषि कार्यमा प्रयोग गरिने साना औजार र आधुनिक प्रविधिबारे जानकारी लिन सकिन्छ। प्रदर्शनीमा करीब चार सय ब्रान्डाका औजार, उपकरण तथा उत्पादन राखिएको छ।

प्रकाशित: १२ माघ २०७५ ०६:४१ शनिबार

प्रदेश_नम्बर_३ भूमि_व्यवस्था कृषि_तथा_सहकारी सामूहिक_खेती