राजनीति

‘बलिउड फिल्म नहेर्ने नेपाली छैन, क्रिकेटले पनि सम्बन्ध बढायो’

काठमाडौं– नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले नेपाल–भारतबीचमा रहेको जनस्तरको सम्बन्ध विश्वको अरु कुनैपनि दुई देशबीच नभएको स्पष्ट पारेका छन्। उनले भने, ‘भारत र नेपालबीचको सम्बन्ध बुवा, हजुरबुवादेखि लिएर भगवानसम्मको हो। द्विपक्षीय सम्बन्ध प्राचिन सम्बन्ध हो।’

शुक्रबार रिपोर्टर्स क्लबद्वारा ७० औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा आयोजित विशेष अन्तरक्रियामा बोल्दै राजदूत पुरीले भने आगामी दिनमा जनस्तरको सम्बन्धलाई अझै सुदृढ गर्नुपर्नेमा जोड दिए। 

उनले भने, ‘हामीबीच रोटी–बेटीको सम्बन्ध छ। यहाँहरुमध्ये सायद कोही पनि यस्तो व्यक्ति हुनुहुन्न होला, जसले बलिउडको फिल्म हेर्नु भएको छैन। मेरो विचारमा सबैले हेर्नुभएको छ। अहिले त हामीबीच क्रिकेटले पनि सम्बन्ध सुमधुर बनाएको छ। नेपालका उदाउँदा युवा क्रिकेटर सन्दिप लामिछाने भारतको आइपीएलमा जमेका छन्।’

त्यस्तै उनले भारतका विभिन्न च्यानलहरुबाट प्रशारण भैरहेका सिरियल पनि नेपालमा सबैले हेरिरहेको सुनाउँदै यसले पनि नेपाल–भारतबीचको जनस्तरको सम्बन्ध प्रगाढ रहेको देखाउने विश्वास दिलाए। 

दुई देशबीचको सम्बन्ध थप सुमधुर र प्रगाढ बनाउनको लागि अर्थ व्यवस्था पनि सुदृढ बनाउनुपर्नेमा उनको जोड थियो। उनले वीरगन्ज–रक्सौलमा हालै सञ्चालनमा आएको ‘इन्ट्रिगे्रटेड चेक पोष्ट’ ले वस्तु तथा सामाग्री आदान–प्रदानमा ठूलो सहयोग पुगेको विश्वास दिलाए। आगामी दिनमा यस्तै चेक पोष्ट नेपालगञ्ज, भैरहवा, विराटनगर र काँकडभिट्टामा पनि सञ्चालनमा ल्याउने राजदूत पुरीले विश्वास दिलाए। 

त्यस्तै उनले पछिल्लो समय भारत–नेपाल बस सेवा पनि अत्यन्तै प्रभावकारी रुपमा सञ्चालनमा आएको सुनाए। काठमाडौं–दिल्लीमात्रै नभएर अहिले काठमाडौं–बोद्यगया, जनकपुर–अयोध्या, जनकपुर–पट्ना, नेपालगञ्ज–लखनउलगायतमा सिधा बस सेवा सञ्चालनमा रहेको सुनाउँदै अहिले आउने–जाने दुवै बस भरिभराउ हुने गरेको पनि उनले सुनाए। 

नेपाल–भारत द्धिपक्षीय सम्बन्धको केन्द्रविन्दु नै जनता–जनताबीचको सम्बन्ध रहेकोले आफूहरुले यसप्रति निकै महत्व दिँदै आएको पनि उनले सुनाए। 

फरक प्रसँगमा उनले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कहिले बुझ्नुहुन्छ भनेर सोधेको प्रश्नमा उनले आफू यसको सदस्य नभएकोले यसबारेमा कुनै प्रतिक्रिया नदिने स्पष्ट पारे। उनले भने, ‘म ईपिजीमा आवद्ध छैन। यो आँफैमा अटोनमस बडी हो। नेपालबाट डा. भेषबहादुर थापाले ईपिजीको नेतृत्व गर्नुभएको छ। म यसको जवाफ दिन सक्दिन्।’

प्रकाशित: ११ माघ २०७५ १०:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App