राजनीति

संसद बैठक बस्दै, अप्रिय घटना हुन नदिन बढाइयो मर्यादापालकको संख्या

काठमाडाैँ - संघीय संसदको प्रतिनिधिसभा बैठक दिउँसाे १ बजे बस्न लागेको छ। राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई लिएर सत्तापक्ष र प्रतिपक्षबीच मुठभेडको माहोल बनिरहेको अवस्थामा प्रतिनिधिसभाले विवादकै बीच यसलाई पारित गर्ने तीब्र तयारी गरेको छ।

संघीय संसद्को सचिवालयका अनुसार  शुक्रबारका लागि बोलाइएको बैठककमा उक्त राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्यसूची रहेको छ। संसदले विधेयक अघि बढाउने तयारी गरे पनि नेपाली कांग्रेसले यसलाई अघि बढ्न नदिनेमा विभिन्न काेणबाट तयारी गरिहेको छ।

१७ औँ दिनदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीसँग सरकारले विगतमा गरेको सहमति विपरीत बेइमानीपूर्वक विधेयक तयार पारेकाले त्यसमा संशोधन हुनुपर्ने माग कांग्रेसको छ। विपक्षीले पेलेको भन्दै काँग्रेसले त्यसको प्रतिक्रियास्वरुप संसदमा अवरोध गर्दै आइरहेको छ। गत मंगलबार र बुधबार विधेयक पेस गर्न सभामुख कृष्णबहादुर महराले शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई अनुमति दिए पनि कांग्रेसको अवरोधले रोकिएको थियो।

संसदमा मुठभेडको खतरा संकेतपछि संसद् सचिवालय त्यसको पूर्वतयारीमा जुटेको छ।  सचिवालयका अनुसार, अप्रिय घटना हुन नदिन मर्यादापालकको संख्या बढाइएको छ भने संसद भवन आसपास प्रयाप्त मात्रमा शुरक्षाकर्मी समेत परिचालन गरिएको छ।

प्रकाशित: ११ माघ २०७५ ०७:०५ शुक्रबार

संघीय_संसद प्रतिनिधिसभा राष्ट्रिय_चिकित्सा_शिक्षा_विधेयक मुठभेड