राजनीति

ओखलढुंगामा दुईओटा नेविसंघ गठन

ओखलढुंगा - ओखलढुंगामा दुई समूहका छुट्टाछुट्टै नेपाल विद्यार्थी संघ (नेविसंघ) गठन भएका छन्। १२ औं जिल्ला अधिवेशनबाट जिल्लामा नेविसंघका दुईवटा समिति गठन भएका हुन्। नेपाली कांग्रेसभित्रका नेताबीच विवादको असर भ्रातृ संगठन नेविसंघमा परेको हो। विवादकैबीच नेविसंघमा दुई समिति गठन भएका हुन्।

बुधबार संस्थापन शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षले छुट्टाछुट्टै समिति गठन भएको घोषणा गरेका छन्। नेविसंघका केन्द्रीय उपाध्यक्ष नवीन राई र केन्द्रीय सदस्य पवन नेपालीले पौडेल पक्षधरका र केन्द्रीय सदस्य भीम गौतमले देउवा पक्षका विद्यार्थीको समिति बनाउन केन्द्रीय प्रतिनिधिको भूमिका खेलेका थिए। नेपाली कांग्रेस जिल्ला कार्य समितिका नेताहरू दुईगुटमा विभाजित भएपछि विद्यार्थी पनि विभाजित भएको नेविसंघ पूर्व अध्यक्ष विनोद केसीले बताए। ‘नेविसंघलाई पार्टीले हस्तक्षप गर्न मिल्दैनथ्यो तर नेताहरुले रवैया देखाए, जिल्ला समिति नै दुइवटा बनाए।’

गाउँ तथा नगरअधिवेशनमा सहमति गरेर १२ औं जिल्ला अधिवेशनमा जुटेका विद्यार्थी नेता पनि पार्टीका नेताले गुटगत व्यवहार गरेपछि नजिकका नेताका पक्षमा लागेका छन्। नेपाली कांग्रेसको संस्थापन पक्ष देउवा पक्षधरका नेताहरूले नेपाल विद्यार्थी संघ ओखलढुंगाको सभापतिमा रोशन महतारासहित २४ सदस्यीय समिति निर्वाचित भएको घोषणा गरेका छन्। उपसभापतिमा हरिचन्द्र श्रेष्ठ र भिष्म श्रेष्ठ निर्वाचित भएका छन्। त्यस्तै समितिको सचिवमा योगेश तामाङ र सुजन पौडेल तथा कोषाध्यक्षमा अर्चना लुइँटेल निर्वाचित भएको बताइएको छ। यस्तै पौडेल पक्षधरका नेताहरूले गोविन्द कोइरालाको अध्यक्षतामा १९ सदस्यीय नेविसंघ गठन भएको जनाएका छन्। समितिमा उपाध्यक्षमा विनोद निरौला, सचिव सुरेश ढुंगेल, सह–सचिव हरिकुमार लुइँलेट, कोषाध्यष यमुना दाहाल छन्। दुवै गुटका नेताहरूले आफ्नो पक्षको समिति वैधानिक रहेको दाबी गरेका छन्।

यस्तो छ कारण
सोमबार नेविसंघको जिल्ला अधिवेशन उद्घाटन समारोहमा आसन र भाषणको विषयलाई लिएर नेताहरूबीच कुटाकुट भएको थियो। पार्टी सभापति शेरबहादुर देउवा पक्षले चुनावका बेला पार्टीलाई अन्तर्घात गरेको आरोप लागेका नेतालाई आसन ग्रहण नगराउने बताएको थियो भने रामचन्द्र पौडेल पक्षधरले सबैलाई समेटेर जान भनिरहेको थियो।

विवादकै बीच नेविसंघका जिल्ला अध्यक्ष प्रदीप बानियाँले औपचारिक कार्यक्रम सुरु गर्न निर्देशन दिएलगत्तै कार्यक्रम रोक्न माग गर्दै पौडेल पक्षका नेता–कार्यकर्ताले चर्को नारा लगाएका थिए। केन्द्रीय प्रतिनिधिलाई समेत बाहिर राखेर गरिएको अधिवेशन मान्य नहुने पौडेल पक्षधरको माग थियो। जिल्ला सभापति प्रदीप सुनुवारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टीले कारबाहीका लागि सिफारिस गरिएको भनिएका नेताहरूलाई प्रवेश गर्न दिइएको थिएन।

नाराबाजी गर्दै कार्यक्रमस्थल पुगेका पौडेल पक्षधर नेताले जबर्जस्ती कार्यक्रम रोक्न माग गरेपछि कुटाकुटको स्थिति सिर्जना भएको हो। सो क्रममा ओखलढुंगा कांग्रेसका पुराना नेता बालकृष्ण दाहालसहित पौडेल पक्षका नेताहरू कुटिएका थिए। कार्यक्रम रोकेर सहमतिमा अघि बढ्न माग गर्दै कार्यक्रमस्थल पुगेका नेता दाहाललाई कार्यक्रमका सभापतिसमेत रहेका नेविसंघ अध्यक्ष प्रदीप बानियाँ र पार्टीका जिल्ला उपसभापति तेजेन्द्र खनालले मुक्का प्रहार गर्दा घाईते भएका थिए। उनको चश्मासमेत फुटेको थियो। विवाद र कुटाकुटपछि दुई समूहमा विभाजित भएका नेताहरूले दुईवटा नेविसंघ बनाएका हुन्।

प्रकाशित: ११ माघ २०७५ ०२:२१ शुक्रबार

ओखलढुंगा नेविसंघ नेपाली_कांग्रेस विवाद