राजनीति

कांग्रेसको चेतावनी– संसदमा सरकार जबरजस्ती अघि बढे हामी गीता सुनेर बस्दैनौं

फाइल तस्बिर

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकार संसदमा जबरजस्ती अघि बढ्न खोजे प्रतिवाद गर्ने चेतावनी दिएको छ। सरकारले शुक्रवारको संसद बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेरै छाड्ने तयारी गरेका बेला विहीवार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले सरकार लचिलो बन्नुपर्नेमा जोड दिएको छ। 

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले सरकार कठोर रुपमा प्रस्तुत भएमा कांग्रेस संसदमा गीता सुनेर नबस्ने चेतावनी दिए। उनका अनुसार कांग्रेसले गोविन्द केसीको माग सम्बोधन गर्न सरकारलाई ३ विकल्प दिएको छ। 

कांग्रेसले माथेमा आयोगको प्रतिवेदनअनुसार अघि बढ्नुपर्ने नभए विज्ञहरुले दिएको सुझाव कार्यान्वयन गर्ने वा सुवास नेम्वाङको नेतृत्वमा (१५ औं अनसनका बेला) भएको सम्झौता कार्यान्वयन गर्नुपर्ने विकल्प सरकारलाई दिएको छ। 

त्यस्तै, आफ्ना नेता गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेको अस्पताललाई खारेज गर्न खोजेकोमा आपत्ति जनाउँदै निर्णय नसच्याएसम्म संसदको अवरोध जारी राख्ने निर्णय समेत गरेको छ।

प्रकाशित: १० माघ २०७५ १०:५५ बिहीबार

संसद नेपाली_कांग्रेस राष्ट्रिय_चिकित्सा_शिक्षा_विधेयक सरकार