राजनीति

कांग्रेसले बाेलायाे बैठक

काठमाडौं – नेपाली कांग्रेसले बिहीबार केन्द्रीय समिति बैठक बोलाएको छ। बैठकमा पार्टी नेताहरू गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा स्थापना भएको अस्पताललाई सरकारले खारेज गर्ने सरकारी निर्णय र संवैधानिक परिषद् बैठक प्रतिपक्षी दलको नेताबिना बसेको विषयमाथि छलफल हुनेछ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बुधबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले केन्द्रीय समितिको अजेन्डा तय गरेको जानकारी उपसभापति विमलेन्द्र निधिले दिए। उनले भने, ‘नेताद्वयका नाममा खुलेका अस्पताल खारेज गर्ने सरकारी निर्णय अशोभनीय र आपत्तिजनक, त्यसलाई नसच्याएसम्म विरोध जारी रहनेछ। बैठकमा यसै विषयमा केन्द्रित हुनेछ।’ बैठकले महासमिति बैठकबाट परिमार्जनसहित पारित प्रस्तावलाई अन्तिम रूप दिनेछ। त्यस्तै, चिकित्सा शिक्षा सुधारका लागि डाक्टर गोविन्द केसीसँग भएको सहमतिविपरीत संसदमा पेस हुन लागेको विधेयकका विषयमा पनि कांग्रेस बैठकले आधिकरणा तय गर्नेछ। बैठकले महासमितिबाट परिर्माजनसहित पारित राजनीतिक, सांगठनिकसहितका आधा दर्जन प्रस्ताव केन्द्रीय समितिले अन्तिम रूप दिनेछ। महासमिति बैठकले संशोधनसहित पारित गरेको प्रस्तावलाई अनुमोदन गरेसँगै बैठकले त्यसलाई कार्यान्वयनमा लैजाने कार्ययोजना समेत बनाउनेछ। कांग्रेसले पार्टीको सदस्यता वितरणलाई अभियानकै रूपमा सञ्चालन गर्ने तयारी गरेको छ। प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा नराम्रोसँग पराजित कांग्रेसले संगठन सुधारका कार्यक्रम पनि तयगर्ने नेताहरूले जनाउँदै आएका छन्।

महासमितिपछि आन्तरिक विवाद सुस्ताए जस्तो देखिएको कांग्रेसमा आगामी केन्द्रीय समिति बैठकबाट पार्टीभित्रको विवाद फेरि सतहमा आउने देखिएको छ। नेता रामचन्द्र पौडेलसहित सभापति शेरबहादुर देउवाइतरका नेताहरू तत्काल १४ औं महाधिवेशनको प्रक्रिया सुरु गर्नुपर्ने पक्षमा छन्। उनीहरू आगामी असार मसान्तसम्म पार्टीमा जागरण अभियान सञ्चालन गर्ने र असोज मसान्तसम्ममा क्रियाशील सदस्यता वितरण र नवीकरणको अभियान चलाउनु पर्ने पक्षमा छ।

मंसिर मसान्तसम्म टोल, मतदान केन्द्र, वडा÷गाउँपालिका, नगर/उपमहानगर/महानगरपालिका अधिवेशन गर्ने र २०७६ पुसभित्र जिल्ला, माघ १६ सम्म प्रदेश र फागुन ७ गते १४औं महाधिवेशनको उद्घाटन गर्नुपर्ने पक्षमा छन्।तर, सभापति देउवासहितका निकट नेताहरू विधानले दिएको एक वर्षको अतिरिक्त सुविधाको उपयोग गर्दै संगठन सुधारको कार्यक्रम सञ्चालनको पक्षमा छन्।

प्रकाशित: १० माघ २०७५ ०३:०६ बिहीबार

नेपाली_कांग्रेस केन्द्रीय_समिति_बैठक संवैधानिक_परिषद्