राजनीति

‘मन्त्रीलाई रोष्ट्रममा जान नदिए बसेकै ठाउँबाट चिकित्सा विधेयक पारित गर्छाैं’

मंगलवार बसेको संसद बैठकमा चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्न खोजेका शिक्षामन्त्री गिरिराजमणी पोखरेललाई रोक्दै कांग्रेस सांसद । तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य एवम् सांसद योगेश भट्टराईले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक आगामी माघ ११ गते बस्ने संसद बैठकबाट पारित हुने दाबी गरेका छन्।

बुधबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा सांसद भट्टराईले ११ गते बस्ने बैठकमा विधेयक निर्णयार्थ प्रस्तुत हुने जनाए। उनले भने, ‘माघ ११ गते बस्ने बैठकमा विधेयक पारित गर्छौं। मन्त्रीलाई रोष्ट्रममा जान दिइएन भने पनि मन्त्री बसेकै ठाउँबाट पनि पारित हुन्छ।’

मन्त्रीले आफू बसेकै ठाउँबाट विधेयक प्रस्तुत गर्ने नजिर कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल सभामुख भएकै बेलादेखि बसेको स्मरण गराउँदै भट्टराईले यो विकल्प अहिले लागु हुने स्पष्ट पारे। 

संसदको आफ्नै अधिकार हुने सुनाउँदै उनले चिकित्सा शिक्षा विधेयक पास गर्ने कुरामा नरोक्न प्रमुख प्रतिपक्षी कांग्रेसलाई आग्रह गरे। 

विद्येयक पारित भएपछि बरु कम्युनिष्ट पार्टीले ज्यादती गर्यो र संसदबाट अधिनायकवाद ल्याउन खोज्यो भनेर विद्येयक लिएर पढाउन जान पनि कांग्रेसलाई उनले सुझाव दिए। 

संसद आफ्नो पार्टीको लागि आत्मा हो, पर्यावाची हो भन्ने कांग्रेसजस्तो पार्टीले संसदलाई यसरी खिल्ली उडाउन नहुने उनको भनाई छ। 

भट्टराईले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पतालको सञ्चालनको सम्पूर्ण जिम्मा नेपाल सरकारले लिनेपनि विश्वास दिलाए। आफूहरु नेपाली कांग्रेसजस्तो नभएको उल्लेख गर्दै भट्टराईले सम्मानित नेताहरुको संस्थाप्रति कुनै वैरभाव नरहेको स्पष्ट पारे।

कांग्रेसले संसद अवरोध गरेपनि गिरिजा र सुशील कोइरालाका नामका अस्पतालहरु चल्ने उनले जिकिर गरे। 

प्रकाशित: ९ माघ २०७५ ११:२८ बुधबार

चिकित्सा_शिक्षा_विधेयक नेकपा योगेश_भट्टराई संसद_बैठक