राजनीति

विश्व आर्थिक मञ्चमा ओलीले भने : नेपालमा लगानी गर्नुस

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी गर्न विश्व समुदायलाई आग्रह गरेका छन्। स्वीट्जरल्याण्डको डाभोसमा जारी विश्व आर्थिक मञ्चको ‘दक्षिण एसियामा रणनीतिक परिदृष्य’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अन्य एसियाली मुलुकसँग व्यापार सम्बन्ध जोड्नका लागि विदेशी लगानी, प्रविधिको प्रयोग र नयाँ प्रविधि भित्र्याउन नेपालले प्रयास गरिरहेको उल्लेख गरे। 

उनले नेपालमा स्थायित्व कायम भइसकेको भन्दै ढुक्क भएर आउन विदेशी लगानीकर्तालाई आह्वान समेत गरे। उनले आफूहरु ‘समृद्ध नेपाल सुखी नेपाली’को नारासहित अघि बढिरहेको भन्दै वर्तमान सरकार आर्थिक विकासमा केन्द्रीत भएको समेत जानकारी गराए। 

नेपालले सामाजिक र आर्थिक रुपमा द्रुत गतिमा परिवर्तन र विकास गरिरहेको जानकारी दिँदै छिमेकीका साथै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संस्थासँग सुमधुर सम्बन्ध कायम गर्दै विकास–निर्माणको मार्गमा अग्रसर भएको बताए। 

नेपालले नयाँ लोकतान्त्रिक गणतन्त्रात्मक शासन पद्धति अङ्गीकार गरी नयाँ संविधानअनुसार नयाँ कानून बनाइरहेको बताउँदै संविधानलाई कार्यान्वयनका निम्ति संरचनागत परिवर्तन गरिरहेको उल्लेख गरे। उनले भनेयो, ‘‘नेपालले अब विकासका लागि धेरै प्रतीक्षा गर्नसक्ने अवस्था छैन।’’ 

‘समृद्ध नेपाल तथा सुखी नेपाली’को लक्ष्य साकार पार्न वर्तमान सरकारले आफ्ना प्रयास आर्थिक विकास तथा सुशासनमा केन्द्रित गरेको जानकारी दिँदै प्रधानमन्त्रीले नेपाली जनताका विकासका आकाङ्क्षा कार्यान्वयन गर्न ध्यान केन्द्रित गरेको बताए। नेपालले नयाँ नीतिका साथ आर्थिक तथा सामाजिक क्षेत्रमा सुधार गरिरहेको उहाँले उल्लेख गरे। 

महिला सशक्तीकरण, न्याय तथा समानता, सामाजिक न्यायको प्रवद्र्धनसँगसँगै समाजका सबै क्षेत्रमा सुधार गरिरहेको जानकारी दिँदै प्रधानमन्त्री ओलीले मानव सूचकाङ्कका दृष्टिले पछिपरेका समाजको उन्नयनलाई महत्वका साथ अघि बढाएको बताए। “हामी नयाँ परिस्थितिमा प्रवेश गरेका छौँ जसले हामीलाई आशावादी बनाएको छ, हामीले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मामिलामा आफ्नो भूमिका बढाउन सकेसम्म प्रयास गरिहेका छौँ’’, उनले भने। 

प्रधानमन्त्री ओलीले नेपालले भारत तथा चीनसँग जलमार्ग तथा रेल सञ्जाल स्थापना गर्न प्रयास गरिरहेको उल्लेख गर्दै दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का अध्यक्षका हैसियतले छिमेकीसँग मैत्रीपूर्ण सम्बन्ध कायम गरेको बताए। 

प्रकाशित: ८ माघ २०७५ १६:१३ मंगलबार

प्रधानमन्त्री_ओली विश्व_आर्थिक_मञ्च स्वीट्जरल्याण्ड