राजनीति

सुन तस्करी प्रकरणमा मुख्य न्यायाधीश भूर्तेल पनि तानिए

काठमाडौं - उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश कुलरत्न भूर्तेललाई न्यायपरिषद् सचिवालयमा तानिएको छ। सुन तस्करीका आरोपितबारे विवादास्पद थुनछेक आदेशका विषयलाई लिएर न्याय परिषद्ले भूर्तेललाई सचिवालयमा तान्ने निर्णय गरेको स्रोतले जनाएको छ।

साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेकाहरूलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। तर, जिल्लाको आदेश उल्टाउँदै उच्च अदालतले केहीलाई धरौटीमा छाडेपछि न्याय परिषद्ले त्यहाँ कार्यरत न्यायाधीशहरूलाई परिषद् सचिवालयमा तानेको छ।

यसअघि न्यायाधीशहरू नागेन्द्रलाभ कर्ण, सारंगा सुवेदी, थिरबहादुर कार्की, उमेशकुमार सिंह र उमेशराज पौडेललाई न्याय परिषद् सचिवालयलाई तानिएको थियो। परिषद्ले यसबारे छानबिन गर्न सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडालाई खटाएको छ। परिषद् बैठकले उच्च अदालत पाटनका न्यायाधीश विश्वमंगल आत्रेयबारे छानबिन गर्ने जिम्मेवारी सर्वोच्च अदालतकै न्यायाधीश आनन्दमोहन भट्टराईलाई दिएको छ। न्याय सम्पादन प्रक्रियामा बदनियत देखिएपछि आत्रेयलाई न्याय परिषद् सचिवालयमा तानिएको थियो। परिषद्मा तानिएका न्यायाधीशका विषयमा छानबिन गरी प्रतिवेदन बुझाउन १५ दिन समय तोकिएको परिषद् स्रोतले जनाएको छ।

यसैगरी परिषद् बैठकले सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार राजनप्रसाद भट्टराईलाई पाटन उच्च अदालतको न्यायाधीशमा नियुक्ति गरेको छ। सर्वोच्चको मुख्य रजिस्ट्रारमा नृपध्वज निरौलालाई नियुक्त गर्ने तयारी छ। परिषद्ले पूर्वन्यायाधीश तपबहादुर मगरलाई न्यायिक प्रतिष्ठानको अध्यक्षमा नियुक्त गरेको छ।

प्रकाशित: ८ माघ २०७५ ०१:०५ मंगलबार

उच्च_अदालत_विराटनगर मुख्य_न्यायाधीश कुलरत्न_भूर्तेल न्यायपरिषद् सुन_तस्करी धरौटी