राजनीति

नयाँ मर्यादाक्रमबारे निर्वाचन आयोगको आपत्ति

काठमाडौं- निर्वाचन आयोगले सरकारले हालै निर्धारण गरेको मर्यादाक्रम प्रति ध्यानाकर्षण भएको बताएको छ। सो हेरफेर भएको मर्यादाक्रमबारे निर्वाचन आयोगको शुक्रबार बसेको पूर्ण बैठकले आपत्ति जनाएको हो। आयोगले बैठक पछि एक विज्ञप्ति जारी गर्दै संवैधानिक निकायका पदाधिकारीहरूको मर्यादाक्रम कार्यकारी निर्णय एवं सिफारिशका आधारमा नियुक्त हुने नेपाल सरकारका कर्मचारीहरूभन्दा धेरै तल राखिनुले संवैधानिक पदहरूको अपमान भएको जनाएको छ। यसले संवैधानिक निकायको संस्थागत गरिमा तथा मान–मर्यादामासमेत आँच आउने आयोगले ठहर गरेको छ।

आयोगले सरकारले हेरफेर गरी निर्धारण गरेको मर्यादाक्रमलाई संशोधन गरी संवैधानिक निकायका पदाधिकारीहरूको मर्यादाक्रम उक्त निकायका प्रमुखको मर्यादाक्रमको लगत्तै पछाडि कायम गर्न गराउन सरकारसँग माग गरेको छ।

 

प्रकाशित: ४ माघ २०७५ १०:५६ शुक्रबार

निर्वाचन_आयोग मर्यादाक्रम