राजनीति

डा. केसीका मागलाई सरकारले बेवास्ता गर्‍यो : गगन थापा

फाइल फाेटाे

काठमाडौं – नेपाली कांग्रेसका नेता गगन थापाले मेडिकल शिक्षा सुधारका माग राखी आमरण अनसन बसिरहेका प्राध्यापक डा. गोविन्द केसी कुनै पनि पार्टीको सदस्य नभएको  बताएका छन्। सरकारको नेतृत्व गरिरहेको नेकपाका केही नेताहरूले सार्वजनिक रुपमै डा. केसी नेपाली कांग्रेसको कार्यकर्ता भएको टिप्पणी गरेकोमा थापाले आपत्ति जनाए।

बिहीबार पत्रकार सम्मेलन गर्दै कांग्रेस नेता थापाले विगतमा विश्वविद्यालय देखी सर्वोच्च अदालतसँग संघर्ष गरेका डा. केसी कुनै दलविशेषको समर्थक र विरोधमा नभई मेडिकल शिक्षा सुधारका लागि लडेको लडाकु भएकोे स्पष्ट पारे। थापाले डा. केसी १६औं अनसनमा रहेको उल्लेख गर्दै एउटा मान्छे उही विषयमा यति धेरैपटक अनसन किन बस्नुपर्याे? बस्दा के भयो त ? भन्ने प्रश्न उठिरहेको बताए।

थापाले डा. केसीको जीवन रक्षा गरिदिन सरकारलाई आग्रह समेत गरेका छन्। थापाले गलत स्वार्थकाविरुद्ध उभिने, शिक्षा क्षेत्र सुधारका लागि खटिने मान्छेलाई हामी किन ढाल्ने भनि सरकारलाई प्रश्न समेत गरे। सरकारले डा.केसीले अनसन बसेको ९ औं दिन पुग्नैलाग्दा समेत वार्ताको पहल नगरेकोप्रति कांग्रेस नेता थापाले आक्रोस पोखे। नेता थापाले विगतमा डा.केसीले आफ्नो पार्टीको सरकार हुँदा ७ पटक गरी जम्मा १६ पटकसम्म अनसन बस्नुपरेकोप्रति चिन्ता व्यक्त गरेका छन्। 

केसीको पाँचौं, छैटौं र सातौं अनसनमा सुशील कोइराला प्रधानमन्त्री थिए। त्यस्तै, एघारौं, बाह्रौं, तेह्रौं र चौधौं अनसनमा प्रधानमन्त्री शेरबहादुर देउवा, पहिलो र दोस्रो अनसनमा डा. बाबुराम भट्टराई प्रधानमन्त्री थिए। तेस्रो र चौंथो अनसनमा खिलराज रेग्मी मन्त्रिपरिषदका अध्यक्ष थिए। नवौं र दशौं अनसनमा पुष्पकमल दाहाल, आठौं, १५औं  र अहिलेको १६ औं अनसनमा केपी शर्मा ओली प्रधानमन्त्री रहेका छन्। त्यस्तै कांग्रेस नेता थापाले विगतमा सरकरले  डा. केसीसँग गरेका सम्झौता कार्यान्वयन गरी केसीको अनसन तोडन पहल गर्न सरकारलाई आग्रह समेत गरेका छन्।

प्रकाशित: ३ माघ २०७५ ११:१० बिहीबार

नेपाली_कांग्रेस गगन_थापा डा._गोविन्द_केसी सरकार