राजनीति

गृहमन्त्रीलाई उत्तर कोरिया भ्रमणको निम्तो

काठमाडौं - गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ मेनले विहिबार शिष्टाचार भेटवार्ता गरेका छन्। गृह मन्त्रालयमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रीत रहेको थियो।

भेटवार्तामा गृहमन्त्री थापाले राजदुतको रुपमा कार्यभार सम्हालेका मेनलाई कार्यकाल सफलताको शुभकामना दिँदै उनकाे कार्यकालमा दुई देशबीचको सम्बन्धले थप उचाई लिने विश्वास व्यक्त गरे। पछिल्लो समय उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियासँग बढाएको वार्ता र छलफलको स्वागत गर्दै गृहमन्त्री थापाले त्यसको सफल परिणाम आउने विश्वास व्यक्त गरे।

राजदूत मेनले नेपाल र उत्तर कोरियाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ४५ वर्ष पुगेको स्मरण गर्दै यो सम्बन्धलाई थप उचाइमा पुर्‍याउनुपर्नेमा जोड दिए। उनले नेपालमा आउने कोरियाली नागरिकलाई प्रवेशाज्ञा प्रक्रिया सहज बनाईदिन गृहमन्त्री थापासँग आग्रह समेत गरे। भेटमा राजदूत मेनले गृहमन्त्री थापालाई उत्तर कोरिया भ्रमणको निम्तो समेत दिएका थिए।

प्रकाशित: ३ माघ २०७५ ०९:१३ बिहीबार

रामबहादुर_थापा उत्तर_कोरिया राजदूत जो_योङ_मेन