राजनीति

कसैलाई अपमान गरेर राष्ट्रिय एकता हुँदैन : दाहाल

धादिङमा आयोजित कार्यक्रममा बोल्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल। तस्बिर : सरिता/नागरिक

धादिङ - पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कसैलाई अपमान गरेर राष्ट्रिय एकता नहुने बताएका छन्। लि लः फङ घले समाजको ल्होसर कार्यक्रमको उद्घाटन गर्नको लागि धादिङबेसी आएका दाहालले संविधान जारी गर्न उत्पीडित जाति र भाषिक समुदायको बलिदान अतुलनीय रहेकाले सबैलाई सम्मान गरेमा मात्र एकता हुने बताएका हुन्। जनताका हक अधिकार सुनिश्चित गराउन आपूmले कुनै पनि कसर बाँकी नराख्ने बताए।

संघिय लोकतान्त्रिक गणतन्त्रको संविधानले सबै जातजाति, भाषाभाषी र वर्ग समुदायको अधिकार सुनिश्चित गर्ने जमर्को गरेको भए पनि पूर्ण नभएकाले संशोधन गर्दै लैजाने बताए। ‘धेरै अप्ठ्यारा रहँदारहँदै संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गरिएकाले धेरै कुरा छुट्न पुगेको छ’, दाहालले भने, ‘जनताको इच्छा चाहाना अनुरूप संशोधन गर्दै लैजानेछौँ।’ संविधान पूर्ण नभएकाले परिमार्जन गर्दै जानुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।

यो देशमा बस्ने कुनै पनि समुदायले विभेद महसुस गर्न नपरो्स भनेरै संविधानमा समावेशी लोकतन्त्र राखिएको बताउँदै दाहालले कुनै पनि एउटा जातजातिलाई तल राखेर राष्ट्रिय एकता र राष्ट्रिय स्वाधीनता बलियो हुनै नसक्ने तर्क गरे। संविधानमा देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वतन्त्रताबाहेक अन्य कुनै पनि विषय अपरिवर्तनीय भनिएको छैन। त्यसकारण समय र परिस्थितिअनुसार संशोधन गर्दै लैजान सकिने उनको भनाइ छ। घले जाति आदिवासी जनजातिको सूचिमा छुटेका कुरा आपूmले भर्खरै मात्र थाहा पाएकाले छुट्टै पहिचान र अस्तित्व रहेको घले जातिलाई आदीवासी जनजातिको सूचिमा सूचीकृत गराउन सरकार, संसद् र पार्टीबाट पहल गर्ने प्रतिवद्धता समेत दाहालले व्यक्त गरे।

कार्यक्रममा घले समाजको तर्फबाट घलेजातिलाई आदीवासी जनजातिको सूचिमा सूचीकृत गराउनको लागि दबाब स्वरूप दाहाललाई ज्ञापनपत्र बुझाइएको थियो। घले जातिको इतिहासलाई सरसर्ति अध्ययन गर्दा आदिवासी जनजातिको सूचीमा नराख्दा अन्याय नै भएको उनले बताए। सबै भाषाभाषी, जातजाति, क्षेत्र, वर्ग र समुदायको हक अधिकार र पहिचान स्थापित गरेर मात्रै नेपालको राष्ट्रिय एकता बलियो हुने अनि राष्ट्र बलियो हुने भएको बताउँदै दाहालले त्यसपछि मात्रै समृद्धिको अभियान सफल हुने बताए।

प्रकाशित: २ माघ २०७५ ०२:४२ बुधबार

नेकपा पुष्पकमल_दाहाल राष्ट्रिय_एकता