लहान - प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले सचिवमाथि हातपात गरेका छन्। मन्त्री यादवले उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई आफ्नै कार्यकक्षमा बाेलाएर कुटपिट गरेका हुन्।
घटना लगत्तै प्रहरीले सचिवलाई नियन्त्रणमा लिएकाे छ। संघीय सरकारले सशर्त अनुदानअन्तर्गतको गरिबी निवारणकाे उद्यम कार्यक्रमका लागि आफ्नो एनजीओलाई छनौट नगरेको भन्दै मन्त्री यादवले आफूमाथि कुटपिट गरेको पीडित सचिव झाले बताए। क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालनका लागि मन्त्रालयमा १ सय ९३ वटा गैरसरकारी संस्थाहरुले आशय पत्र दर्ता गराएकोमा ४० वटा संस्था छनोट भएका थिए।
यता मन्त्री यादवले भने सचिवमाथि आफुले हातपात नगरेको बताए। सभामुखकै छेउमा आएर अभद्र तरिकाले सचिव बसेको तथा बोलेको आरोप मन्त्री यादवले लगाए। उनले सचिव झाले सधैं आफु लोकल रहेको भन्दै धम्की दिँदै आएको बताए। उनले भने,‘न मैले सचिवमाथि हातपात गरेको हो न सचिवले ममाथि । कसैले कसैलाई हातपात गरेको होइन। मौखिक बहस मात्र भएको हो अरु केही भएको होइन।’
सचिव झालाई मन्त्रीले कुटपिट गरेपछि कर्मचारीहरुले मुख्य ढोकामा धर्ना दिएका थिए। मन्त्री कोठामै थुनिएपछि सचिव झालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रकाशित: २९ पुस २०७५ ११:२९ आइतबार