राजनीति

केसीसँगको सम्झौता कार्यान्वयन गर्न माग

काठमाडौं– प्रतिनिधि सभामा नेपाली कांग्रेसका सांसदहरुले डा. गोविन्द केसीको स्वास्थ्य खस्किदै गएको उल्लेख गर्दै उनीसँग सरकारले गरेका सम्झौता लागू गर्न माग गरेका छन्।

प्रतिनिधि सभाको आइतवारको बैठको शून्य समयमा बोल्दै नेपाली कांग्रेसका सांसद सीतादेवी यादवले डा.केसीसँग भएका सम्झौता तत्काल कार्यान्वयन गर्न माग गरिन्। सांसद यादवले डा. केसी १६औं पटक अनसनमा बसिरहेको र स्वास्थ्यस्थिति नाजुक बन्दै गएकोमा पनि सरकारको ध्यानाकर्षण गराएकी थिइन्। उनले भनिन्, ‘अविलम्ब उहाँको माग पुरा गर्न आग्रह गर्दछु।’

कांग्रेसकै अर्का सांसद ज्ञानेन्द्र बहादुर कार्कीले डा. केसीलाई फेरि अनसनमा जानुपर्ने वाध्यता सृजना गरि सरकारको विश्वसनियता माथि प्रश्न उठेको बताए। केसीले राखेका मागलाई तोडमोड नगरिकन पुरा गर्न सांसद कार्कीले आग्रह गरे।

मर्यादाक्रमप्रति सांसदको आपत्ति
आइतवारको शून्य समयमा सत्तारुढ सांसदले सरकारले सार्वजनिक गरेको मर्यादाक्रमको सूची प्रति आपत्ति जनाएका थिए। नेकपाका सांसद हरिवोल गजुरेलले भने, ‘अहिले हचुवाका भरमा गर्ने र पछि हट्ने चलन छ। त्यसलाई तत्कालै मिलाइयोस्।’ यसैगरी सांसद हरिराज अधिकारीले मर्यादाक्रमको सूचीले विवाद सृजना गरेको भन्दै सच्याउन आग्रह गरे।

प्रकाशित: २९ पुस २०७५ ०९:०४ आइतबार

गाेविन्द_केसी प्रतिनिधि_सभा शून्य_समय १६_औ‌_अनसन