राजनीति

पर्यटनमन्त्रीको उद्घोष : राजीनामा दिन्न, निगमलाई धरासायी हुनबाट जोगाउँछु

पत्रकार सम्मेलनमा मन्त्री अधिकारी । तस्बिर : दिनेश लुइटेल

काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले आफूले पदबाट राजीनामा नदिने स्पष्ट पारेका छन्। 

संसदीय उपसमिति तथा लेखा समितिले ४ अर्ब ३५ करोड अनियमितता गरेको भन्दै कारवाहीका लागि सिफारिस गरेका बेला मन्त्री अधिकारीले भने राजिनामा नदिने बताएका हुन्। नागरिक न्युजसँग कुरा गर्दै मन्त्री अधिकारीले भने, ‘म राजीनामा दिन्न। वायुसेवा निगमलाई धरासायी हुनबाट जोगाउँछु’, उनले भने। 

आफू निगमको सुधार अभियानमा लागेको भन्दै सहि काम गर्दा आलोचना हुने गरेको उनले गुनासो पोखे। 

मन्त्री अधिकारीले नागरिकसँग भने, ‘निगममा भएका कमी कमजोरी हटाउने र राम्रो बनाएर लैजान्छु। न्यायिक समिति बनेको छ, संसद्को समितिले पनि हेरिरहेकै छ।’ नागरिकको बीचमा दुविधा भयो भनी निगमले आफ्नो यात्रा तय गर्न नसक्ने उनको भनाई छ। 

निगमको भविष्य उज्यालो रहेको भन्दै यसलाई प्रभावकारी बनेर लैजान आफु क्रियाशील रहेको बताए। आज गरिएको पत्रकार सम्मेलन वाइड बडी खरिदका सम्बन्धमा गठित समितिको अनुसन्धानलाई प्रभावित गर्न नगरिएको प्रष्ट पारे।
‘संसदमा विश्वास गर्छु, न्यापालिकामा बिश्वास गर्छु। एक दिन सत्य बाहिर जसरी पनि आउँछ’, उनले भने। मन्त्री अधिकारीले फलाम आगोमा खरिएरै बलियो हुने दृष्टान्त दिँदै पछिल्ला घटनाक्रमले आफूलाई थप जिम्मेवार र परिपक्व बनाउने बताए। 

नियती खराब हो भनी तम भन्न सक्दिन तर सहि नियतले वास्तविकता पता लगाउन खोज्नेहरुका लागि सहि ठाउँमा पु=याउने उनको विश्वास थियो। अनुसन्धानलाई मन्त्रालयले सहयोग गर्ने उनको भनाई छ। 

महालेखाले विमान खरिद प्रक्रिया रोक्न कतै नभनेको उनले बताए। अधिकारीले विमान कम्पनीलाई बुझाइएको रकम उसैको तालिका अनुसार भुक्तानी गरिएको दाबी गरे।

‘मैले राजनीति गरेको कुर्सीका लागि होइन यो कुर्सी स्थायी होइन भन्ने पनि मलाई राम्रोसंग थाहा छ। हामीले निर्भिकताका साथ, एग्रेसिभ भएर निगमलाई अगाडि बढाएनौं भने यो धराशायी हुन्छ’, उनले थपे। 

‘यो कमजोर होला यसलाई धरासायी बनाउन सके हाम्रो ब्यापार फस्टाउँछ भन्नेहरु पनि छन्। त्यसकारण निगमलाई एउटा राम्रो व्यापारिक साझेदार खोजेर अघि बढाउनु पर्ने आवश्यकता छ’, उनले थपे।

प्रकाशित: २३ पुस २०७५ ०७:२४ सोमबार

रवीन्द्र_अधिकारी राजीनामा वायुसेवा_निगम