राजनीति

नक्कली कम्युनिस्टबाट देशको समृद्धि र समाजवाद सम्भव छैनः यादव

काठमाडौं– संघीय समाजबादी फोरम र हाम्रो कम्युनिष्ट पार्टीबीच एकीकरण भएको छ। राजधानीको जमलमा एक भब्य कार्यक्रमको आयोजना गरी पार्टी एकीकरणको घोषणा गरिएको हो। 

कार्यक्रममा पार्टी अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले खादा र सहअध्यक्ष तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र प्रसाद श्रेष्ठले टीका लगाएर पार्टीमा एकीकृत भएका नेता कार्यकर्तालाई स्वागत गरे। हाम्रो कम्युनिष्ट पार्टीका महासचिव हिरालाल भुजेलले आफ्नो पार्टी संघीय समाजवादी फोरममा एकीकृत भएको घोषणा गरे। 

कार्यक्रममा फोरम अध्यक्ष यादवले नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीहरूले सुन्दर देशलाई मागेर खाने देश बनाएको बताउँदै उनीहरूबाट देशको समृद्धि र समाजवाद सम्भव नभएको बताए। उनले नेपालका कम्युनिष्ट पार्टीहरू नक्कली कम्युनिष्ट भएको समेत घोषणा गरे।

सहअध्यक्ष तथा वार्ता समिति संयोजक राजेन्द्र प्रसाद श्रेष्ठले फोरम नयाँ ढंगको पार्टी भएको बताउँदै पार्टीमा एकीकृत भएका कसैप्रति पनि आग्रह पूर्वाग्रह नराखी योग्यता क्षमता अनुसार जिम्मेवारी दिने बताए। उनले फोरम समाजवादी, लोकतान्त्रिक तथा प्रगतिशील शक्तिहरूको केन्द्र भएको बताए। 

प्रकाशित: २३ पुस २०७५ ०५:३३ सोमबार

संघीय_समाजबादी_फोरम हाम्रो_कम्युनिष्ट_पार्टी एकीकरण