राजनीति

सरकारले हैसियत अनुसारको काम गरेको छः मुख्यमन्त्री पौडेल

सिन्धुली– प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश सरकारले भरपुर काम गरिरहेको बताएका छन्। प्रदेश निर्माण तथा सरकार गठन भएपछि प्रदेश सरकारले आफ्नो हैसियत अनुसारको काम गरेको उनले दावी गरे। सिन्धुलीमा १० दिनदेखि जारी रहेको महोत्सवको आइतबार समापन समारोहमा सम्बोधन गर्न आएका मुख्य मन्त्री पौडेलले प्रदेश सरकारले के ग-यो भनेर प्रश्न गर्नुभन्दा पनि के गरेन भनेर सोच्नुपर्ने बताए। प्रदेश सरकार शुन्यबाट धेरै माथि उठेको छ’, उनले भने। 

मुलुकमा आर्थिक गतिविधि बढेन भने समृद्धि नहुने भन्दै उनले मेला महोत्सवले आर्थिक गतिविधि बढाएको बताए। प्रदेश सरकार समृद्ध नेपाल र सुखी नेपाली बनाउनेतर्फ लागेको भन्दै उनले सिन्धुलीमा प्रशस्त जल जमिन र जङगल भएकाले प्रदेशको समृद्धिको यात्रा सिन्धुलीबाट नै सुरु गरेको उल्लेख गरे। सिन्धुलीमा हालै सुरु भएको चक्लाबन्दी खेती प्रणाली प्रदेशकै नमुना बनाइएको भन्दै मुख्यमन्त्री पौडेलले भाषण मात्र गरेर समृद्धि नआउने बताए। ‘अब भाषण गरेर मात्र समृद्धि हुँदैन’, उनले भने, ‘हाम्रा बाझो बसेका जमिनको सदुपयोग गरि आफूले आफैलाई समृद्धि बनाउनेतर्फ सबै नेपाली लाग्नुपर्छ।’ 

उनले प्रदेश ३ का १३ जिल्ला मध्ये सबैभन्दा धेरै उर्वर जमिन सिन्धुलीमै भएकाले बाझो बसेका अधिकांश जमिनको सदुपयोग गर्दै किसानको मुहारमा समेत उज्यालो बनाउने अभियान सुरु भएको बताए। ‘बाझो रहेको जमिनलाई हराभर बनाउनुपर्छ त्यसका लागि प्रदेश सरकारले भरपुर सहयोग गर्छ’, उनले भने। 

‘जुन जिल्लामा जे संम्भावना हुन्छ, हामी त्यहि सम्भावनालाई प्राथमिकतामा राखेर काम गर्छौ’, मुख्यमन्त्री पौडेलले भने, ‘सिन्धुलीमा कृषिको मात्र नभएर पर्यटन विकासको संम्भावना पनि धेरै छ, त्यसको विकास गर्छौ।’ उनले सिन्धुलीको ऐतिहासिक सिन्धुलीगढी र हरिहरपुरगढी प्रदेशको मुख्य पर्यटकिय क्षेत्रको रुपमा रहेको समेत उल्लेख गरे। 

प्रकाशित: २२ पुस २०७५ १५:१४ आइतबार

प्रदेश_नम्बर_३ डोरमणी_पौडेल सरकार