राजनीति

गुटउपगुटले पार्टी ध्वस्त हुन लाग्यो : कोइराला

चितवन - नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टी गुटउपगुटले ध्वस्त हुन लागेको वताएका छन्। नेपाली कांग्रेस रत्ननगर नगरसमितिले शनिवार रत्ननगरमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा वनभोज कार्यक्रममा कोइरालाले पार्टीलाई एक ढिक्का वनाई अघि वढ्न नेतृत्वमा परिवर्तनको विकल्प नभएको बताएका हुन्।

कोइरालाले जनताले पार्टीको नेतृत्वमा परिवर्तन खोजेको स्पष्ट समेत पारे। साथै आउँदो निर्वाचनसम्म पार्टीलाई एक ढिक्का बनाएर लैजान सकेमा नेपाली कांग्रेसलाई कसैले जित्न नसक्ने उनको दाबी थियो। अहिले आम नेतृत्वले कांग्रेसलाई कसरी बलियो बनाएर लैजाने भन्ने विषयमा सोच्न आवश्यक रहेको महामन्त्री कोइरालाको भनाइ थियो।

त्यस्तै सोही कार्यक्रममा कांग्रेस नेता महेश आचार्यले पार्टीभित्रको अन्तरघातका कारण कांग्रेस कमजोर बनेको वताए। पार्टीलाई चलायमान बनाउन तत्काल संघीय संरचना अनुसार पार्टी संरचना निर्माण गर्नु आवश्यक रहेकोमा नेता आचार्यको जोड थियो। यसैगरी कांग्रेसका नेता धनराज गुरुङले नेपाली कांग्रेसले आफ्नो दृष्टिकोणका साथ बदलिनु आवश्यक रहेको वताए। पार्टीलाई चलायमान बनाउन लागि नेतृत्व सदाचारको बाटोमा हिड्दै अघि बढ्नुपर्नेमा नेता गुरुङको जाेड थियाे।रासस

 

प्रकाशित: २१ पुस २०७५ १३:१९ शनिबार

नेपाली_कांग्रेस शशांक_कोइराला