राजनीति

निर्मला हत्या प्रकरणमा सरकारको अप्रत्यक्ष संलग्नता छ : महामन्त्री काेइराला

भीमदत्तनगर- नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले एकताबद्ध भएर लाग्न पार्टी नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।

कञ्चनपुरको बेलौरीमा शुक्रवार नेपाली काङ्ग्रेस कञ्चनपुर क्षेत्र नं १ को क्षेत्रीय सम्मेलन उद्घाटन गर्दै महामन्त्री कोइरालाले पार्टीलाई एकताबद्ध बनाउन वडास्तरसम्मका कार्यकर्ता लाग्नुपर्नेमा जोड दिए। पार्टीभित्र एकता नभएकै कारण काङ्ग्रेसले निर्वाचनमा हार व्यहोरेकाले पार्टीभित्र मित्रता र सहकार्य भए आगामी निर्वाचनमा काङ्ग्रेस पहिलो पार्टी हुने दाबी गरे।

वर्तमान सरकारले केही काम गर्न नसकेको भन्दै उनले निर्मला पन्त हत्या प्रकरणमा सरकारको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता रहेको आरोप लगाए। कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्यद्वय दिलेन्द्रप्रसाद बडू र नारायणप्रकाश साउद, दीपक गिरी तथा अन्य नेताले आ–आफ्नो धारणा राखेका थिए। रासस

प्रकाशित: १३ पुस २०७५ १६:१२ शुक्रबार

नेपाली_काङ्ग्रेस शशाङ्क_कोइराला निर्मला_पन्त सरकार