राजनीति

अमरेशले सभामुखमाथि उठाए प्रश्न, कारवाहीको माग

काठमाडौं– नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंहले राजधानीमा भर्खरै सम्पन्न एसिया प्यासिफिक सम्मेलनमा संसदको लोगो प्रयोग भएकोमा आपत्ति जनाएका छन्। शुक्रवारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद सिंहले सम्मेलनमा कुनै निर्णय विना संसदको लोगो प्रयोग गर्न निर्देशन दिनेलाई कारवाही गर्न माग गरे। ‘भर्खरै युनिफिकेशन चर्चको सम्मेलन भएको थियो। त्यसमा संसदको लोगो प्रयोग भएको छ। संसदको कुन निर्णयबाट त्यस्तो लोगो प्रयोग गर्न पाइन्छ? त्यो पनि हामीलाई जानकारी चाहियो’, उनले भने, ‘नत्र भने संसदको लोगो, सरकारको लोगो विना निर्णय जोकोहीको विहे, व्रतबन्ध जहाँ पनि प्रयोग गर्न पाइने हो भने आजै रुलिङ होस कि लोगो जहाँ पनि प्रयोग गर्न पाइन्छ।’ उनले थपे, ‘जुन पदाधिकारीले त्यस्तो लोगो प्रयोग गर्ने निर्देशन दिएको छ, त्यसलाई कानुनी कारवाहीको माग गर्न चाहन्छु।’

सांसद सिंहले पुस महिना लागिसक्दा समेत चिनी मिल सञ्चालन नभएको, सरकार र चिनी मिल मालिकको मिलेमतोले किसानको उखु खेतमै रहने अवस्था आएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए। हरेक वर्ष कात्तिकमै चिनी मिल सञ्चालन हुने भएपनि यसपालि ढिला भएको भन्दै समस्या समाधान गर्न आग्रह गरे।

प्रकाशित: १३ पुस २०७५ ११:१७ शुक्रबार

अमरेशकुमार_सिंह एसिया_प्यासिफिक_सम्मेलन संसद लोगो