राजनीति

संसदका कर्मचारी : घाम ताप्छन्, झगडा गर्छन

पोखरा – संसद सचिवालयका कर्मचारी यतिबेला फुर्सदिला छन्। सदन तीन महिनादेखि बन्द छ। सामान्य प्रशासनिक कामबाहेक कर्मचारी घाम तापेरै बस्छन्। केही समयअघि प्रदेशसभा प्राङ्गणमा फुटबल खेलेर सचिवालयका २ कर्मचारीले खुट्टा नै भाँचेका पनि थिए। यस्तै, सरकारी गाडी सिक्न खोज्दा अर्को गाडी नै कुच्चिएको थियो।

बुधवार प्रदेशसभामा पुग्दा कर्मचारीहरू बाहिरै बसेर घाम तापिरहेका थिए। सभामुख नेत्रनाथ अधिकारी सहित सचिवालयका सचिव शम्भु खड्कासहित केही कर्मचारीहरू बैठकमा सहभागी थिए। बैठक सकिएपछि सभामुख फर्के। त्यसपछि सुरु भयो सचिव शम्भु खड्का र लेखा अधिकृत दुर्योधन गिरीको जुहारी। दुई कर्मचारी झगडामा उत्रिनुको कारणचाहिँ महंगी भत्ताको विषयमा थियो। प्रदेशसभा सदस्य राजीव पहारी प्रदेशसभामा प्रवेश गरेपछि मात्रै उनीहरुको झगडा साम्य भएको थियो।

यस्तो छ घटना
प्रदेशसभा सचिवालयमा कार्यालय सहयोगीका ३ वटा दरबन्दी छन्। ती तीनवटै दरबन्दीमा स्थायी कर्मचारी पनि आउन सक्छन्। तर, उनीहरू नआउन्जेलसम्म सचिवालयले रञ्जना वाग्ले, सुनिता मोक्तान र सुर्य बहादुर केसीलाई नियुक्त गरेको छ। यी तीनमध्ये मोक्तान सचिव खड्काको भान्सेको रुपमा काम गर्छिन्।

६–६ महिनाको अस्थायी नियुक्त पाएका यी कर्मचारीहरुले महंगी भत्ता पाउने व्यवस्था सम्झौता पत्रमा छैन्। करार ऐन अनुसार कर्मचारी राख्दा महंगी भत्ता पाउने–नपाउने भन्ने स्पष्ट खुलाइएको हुनुपर्छ, उनीहरूको हकमा ऐन अनुसार महंगी भत्ता पाउँदैनन्। तर, सचिवालयका सचिव शम्भु खड्काले लेखा अधिकृत गिरीलाई महंगी भत्ता दिन ठाडो दबाब दिए र गिरीले अस्विकार गर्दा झगडा नै पर्याे।

स्थायी कर्मचारीले मासिक २ हजार रुपैयाँ महंगी भत्ता पाउँछन। सोही भत्ता अस्थायी कर्मचारीलाई जसरी भएपनि दिनुपर्छ भनेपछि लेखा अधिकृत गिरीले नदिने अडान लिए। ‘करार ऐनमा लेखिएको छैन्, मैले कसरी दिने ?’ गिरीले भने, ‘म पनि तपाईकै प्रक्रियाले नियुक्त भएको कर्मचारी हुँ, विधी विपरित काम गर्न म सक्दिन्।’ सचिव खड्काले चाहिँ कर्मचारीलाई संयुक्त रुपमा महंगी भत्ता पाउँ भन्ने व्योहोरोको निवेदन दिन अस्थायी कर्मचारीलाई आग्रह गरे।

‘तपाईहरुले निवेदन दिनुहोस्, मैले तोक लगाइदिन्छु’ उनको भनाई थियो। तर, ऐनमा नै उल्लेख नभएको विषयमा आफूले हात नहाल्ने भन्दै गिरीले अडान लिए। ‘मैले १, २, ३ दिन्न तपाई के गर्नुहुन्छ गर्नुहोस, मेरो सरुवा गरिदिनुहोस् र अर्को कर्मचारी ल्याउनुहोस’ उनले थपे, ‘तपाईको मौखिक आदेशलाई महालेखाले बुझ्दैन, कि सम्झौतापत्र नै संशोधन गर्नुहोस्, यसरी कर्मचारी पेल्न पाईँदैन।’ सचिव खड्काले चाहिँ, आफूले नियुक्त नगरेको र नपठाउने बताउँदै सचिवको ठाडो आदेश भनेतापनि मौखिक आदेश भनेतापनि महंगी भत्ता दिनैपर्नेमा जोड दिए।

महालेखा परिक्षकको कार्यालयले लेखापरिक्षण गर्दाको विषयमा आफूलाई जानकारी नगराएको भन्दै सचिव खड्का अन्य कर्मचारीसँग समेत आक्रोशित बनेका थिए। लेखा अधिकृत गिरीले भने लेखापरिक्षणको विषयमा कार्यालय प्रमुखले चासो नै नदिएको आरोप लगाए। अन्य कर्मचारीहरुले सचिव खड्काले पेलेको आरोप समेत लगाए। यसबाहेक सचिव खड्काले दशैँयता सरकारी गाडी काठमाडाैंस्थित घरमा नै लगेर राखेका छन्। सचिवालयमा उनले अर्को गाडी प्रयोग गर्छन्, भने काठमाडाैंमा सेन्ट्रो कार लगेर राखेका छन्। केही दिनअघि मात्रै उनै सचिव खड्काका छोराले सरकारी गाडी लिएर बेगनासको सयर गरेका थिए।

प्रकाशित: १२ पुस २०७५ ०९:५८ बिहीबार

गण्डकी_प्रदेश संसद कर्मचारी झगडा