राजनीति

पत्रकार महासंघको साधारणसभा पोखरामा हुने

काठमाडौ– नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा आगामी फागुन ९ र १० गते पोखरामा हुने भएको छ। महासंघको पुस ६ र ७ गते धनकुटामा सम्पन्न बैठकले पोखरामा केन्द्रीय साधारणसभा तथा विधान अधिवेशन आयोजना गर्ने निर्णय गरेको हो।

अधिवेशनमा महासंघलाई प्रत्यक्ष निर्वाचन प्रणालीमा लैजाने गरी उपाध्यक्ष विपुल पोखरेलको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरेको छ।

विराटनगरमा सम्पन्न प्रदेश अध्यक्ष/महासचिव र शाखा अध्यक्षहरुको राष्ट्रिय सम्मेलनले महासंघलाई प्रत्यक्ष निर्वाचन प्रणलीमा लैजान निर्देशन दिएको थियो।पोखरा अधिवेशनका लागि बैठकले अध्यक्ष गोविन्द आचार्यको संयोजकत्वमा केन्द्रीय समिति, गण्डकी प्रदेश समितिका पदाधिकारी, गण्डकी प्रदेशका शाखा अध्यक्षहरु रहेको मूल आयोजक समिति गठन गरेको महासंघद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।

विज्ञप्तीमा महासंघले मुलुकी फौजदारी, गोपनीयताको हकसम्बन्धी कानुन र विद्युतीय कारोबारसम्बन्धी ऐनमा रहेका प्रेस स्वतन्त्रताविरोधी प्रावधानहरु तत्काल संशोधन गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्वाध उपभोग गर्ने कानुनी वातावरण तयार पार्न सरकारँग जोडदार माग गरेको उल्लेख छ।
 

प्रकाशित: ९ पुस २०७५ ०७:३५ सोमबार

नेपाल_पत्रकार_महासंघ साधारणसभा पोखरा