राजनीति

निजी विद्यालयलाई प्रधानमन्त्रीकाे आग्रह - पैसाको लोभमा विद्यार्थीको रुचीलाई नमार्नुहोस्

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहले पनि राष्ट्रिय शिक्षा नीति अनुरुपकै नीति तय गर्नुपर्ने बताएका छन्।

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले बिहीबार बुढानिलकण्ठमा आयोजना गरेको राष्ट्रिय शिक्षा सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने,'अहिले शिक्षाको नीति नियम बनाउने कुरा प्रदेश र स्थानीयतहलाई पनि दिइएको छ तर, यी निकायले पनि राष्ट्रिय शिक्षानीतिको अनुसरण गर्नुपर्दछ।'

ओलीले नेपालमा अझै पनि धेरै बालबालिका विद्यालय बाहिर रहेको बताउँदै उनीहरूलाई विद्यालय भर्ना गराउन सरकार प्रयासरत रहेको बताए।'यस वर्ष हामीले कर्णालीबाट विद्यालय भर्ना अभियान सुरु गर्यौं,' ओलीले भने,'आगामी वर्षभित्र विद्यालय उमेरका कोहीपनि बालबालिका विद्यालय बाहिर हुँदैनन्।' नेपालीहरू विद्वान पूर्खाका सन्तान भएको स्मरण गर्दै ओलीले विद्यार्थीले आफ्नो रुची अनुसारको अध्ययन गर्ने अवसर नपाउँदा पछि परेको बताए।

अभिभावक र विद्यालयको रुचीअनुसार पढिदिनु पर्दा विद्यार्थीले आफ्नो प्रतिभा प्रस्फुटन गर्न नसकेको ओलीको भनाइ थियो। “महंगो शुल्क लिएर पढाइरहेका निजी विद्यालयलाई पनि म भन्न चाहन्छु पैसाको लोभमा विद्यार्थीको रुचीलाई नमार्नुहोस्” ओलीले भने, “विद्यार्थीको रुचीअनुसारको विषय तपाईंको विद्यालयमा पढाइ हुँदैन भने उनीहरुलाई अरू विद्यालयमा पढाउन सिफारिस गरिदिनुहोस्।” नेपाललाई विकासमा नेतृत्व गर्नसक्ने जनशक्ति आवश्यक परेकोले त्यसै अनुसारका विषयहरू छनौट गरेर पठन पाठन हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ।

प्रकाशित: ५ पुस २०७५ १०:३० बिहीबार

केपी_शर्मा_ओली स्थानीय_तह राष्ट्रिय_शिक्षा_नीति निजी_विद्यालय