राजनीति

अन्तरप्रदेश परिषद बैठक सुरू, अध्ययन कार्यदलले प्रतिवेदन बुझाउँदै

सिंहदरवारमा सुरु भएको अन्तरपरिषद बैठक। तस्बिर: दिपेश श्रेष्ठ/नागरिक

काठमाडौं – प्रदेश सरकारका समस्या र तिनका समाधान सुझाउन गठित अन्तरप्रदेश परिषद अन्तरगतको कार्यदलले आज आफ्नो प्रतिवेदन प्रधानमन्त्री केपी ओली समक्ष बुझाउँदैछ। यसका लागि  परिषदकाे बैठक सुरू भएकाे छ।  गत मंसिर २४ गते सम्पन्न प्रदेश प्रमूखसहित संघीय मन्त्रीपरिषद् सम्मिलित परिषद बैठकमा प्रदेश समस्या अध्ययन अावश्यक रहेको भन्दै कार्यदल गठन गरिएको थियो।

उक्त बैठकले गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा अर्थमन्त्री डा. युवराज खतिवडा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत रहेको कार्यदल बनाएको थियो। कार्यदलको सदस्य सचिवमा मुख्यसचिव लोकदर्शन रेग्मी छन्।

कार्यदल बनाउनु अघि दुइ दिन सम्म भएको बैठकमा सबै प्रदेशका मुख्यमन्त्रीहरुले केन्द्रीय सरकारले प्रदेशलाई सहयोग नगरेको, पर्याप्त बजेट नदिएको, कर्मचारीको व्यवस्थापनमा गंभिरता नदेखाएको, प्रदेश स्वयंलाई अधिकार निक्षेपण गर्न अनुदार बनेको जस्ता मुद्दा उठाएका थिए।

कार्यदलले मसिर २३ र २४ गतेको बैठकमा मुख्यमन्त्रीले राखेका समस्याहरुको बारेमा अध्ययन गरेको छ।

प्रकाशित: ३ पुस २०७५ ०८:२८ मंगलबार

प्रदेश_सरकार अन्तरप्रदेश_परिषद बैठक प्रधानमन्त्री_केपी_ओली