राजनीति

हिन्दु राष्ट्रका लागि जनसंघर्ष गरीने : अध्यक्ष थापा

फाइल तस्बिर

सुर्खेत - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र पुनर्स्थापनाका लागि देशभर संघर्षका कार्यक्रम सुरु गर्ने बताएका छन्। उनले जनसंघर्षमा कुनै धर्म, पार्टीको विरोध नभई हिन्दु राष्ट्र पुनर्स्थापनासँगै देशमा रहेको विकृति अन्त्यका लागि हुने बताए। हिन्दुराष्ट्र पुनर्स्थापनाका लागि अहिले सात वटै प्रदेशमा प्रशिक्षण कार्यक्रम भइराखेको थापाले जानकारी दिए।

‘पुस र माघ महिनाभरी ७५३ वटै स्थानीय तहमा जनजागरण अभियान चलाउँछौं’ शुक्रबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले भने, ‘फागुन ७ गतेदेखि हिन्दुराष्ट्र पुनर्स्थापनाका लागि निर्णायक आन्दोलनको सुरुवात हुन्छ।’ उनले हिन्दुराष्ट्र राष्ट्रिय पहिचान र एकताको आधारस्तम्भ भएकाले निर्णायक आन्दोलनमा सहभागी हुन आव्हान गरे।

अध्यक्ष थापाले केही दिनअघि नेपालमा भएको एसिया प्यासिफिक सम्मेलनमा सरकारले जनाएको तामझामपूर्ण सहभागिता आपत्तिजनक रहेको बताए। सरकारले आफ्नो सहभागितासँगै सरकारी स्रोत र साधनको दुरुपयोग गरेको आरोप समेत अध्यक्ष थापाले लगाए। ‘धर्म प्रचारक संस्थाको कार्यक्रममा सरकारको उत्साहपूर्ण सहभागिताले अल्पसंख्यकलाई रिझाउने नाममा बहुसंख्यकको विचार र आस्थामाथि सरकारले गम्भीर आघात पुर्याएको छ’ अध्यक्ष थापाले भने, ‘अव यसको जवाफ जनताले दिन जरुरी छ।’

अध्यक्ष थापाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र पनि हिन्दुराष्ट्र पक्षधरहरुको मत बलियो बन्दै गएकाले जारी महासमिति बैठकबाट हिन्दुराष्ट्रको बारेमा निर्णय हुने अपेक्षा गरे। ‘कांग्रेसको अवको महासमिति बैठकले हिन्दुराष्ट्रका बारेमा निर्णय लिने अपेक्षा हामीले गरेका छौं’ उनले भने, ‘कांग्रेसले यस्तो निर्णय गरेमा देश हिन्दुराष्ट्र घोषणा हुन समय लाग्दैन्।’

अध्यक्ष थापाले दुई तिहाई बहुमत प्राप्त सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको बताए। ‘कम्युनिष्टहरुले चुनावका बेला दुई तिहाई बहुमत दिनुहोस्, हामी समृद्धिको बाटोमा देशलाई डोर्याउँछौं भनेका थिए’ अध्यक्ष थापाले भने, ‘एक वर्ष भयो, जनअपेक्षा अनुसार सरकारले कुनै काम गर्न सकेको छैन्।’

 

प्रकाशित: २८ मंसिर २०७५ १४:०९ शुक्रबार

राष्ट्रिय_प्रजातन्त्र_पार्टी कमल_थापा