राजनीति

सरकारका काम कारवाहीमाथि स्थायी समितिमा निर्मम समीक्षा हुन्छ : नेता रायमाझी

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले अब बस्ने स्थायी समिति बैठकमा सरकारको बारेमा निर्मम समीक्षा हुने स्पष्ट पारेका छन्। नेकपाले आगामी मंसिर २९ गतेलाई स्थायी समिति बैठक आह्वान गरेको छ।

बिहीबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा नेता रायमाझीले पार्टीको अब बस्ने स्थायी समिति बैठकमा पार्टी निर्माण, संगठन विस्तार र सरकार सञ्चालनको विषयमा छलफल तथा समीक्षा हुने बताए। ‘हामी पार्टी एकतालाई पूर्णता दिने पक्षमा छौं। सरकार गठन भएको पनि ९ महिना पूरा भैसकेको छ। यो बीचमा सरकारले हाँसिल गरेको उपलब्धिहरु र कमीकमजोरीबारे छलफल र समीक्षा दुवै हुन्छ।’

पछिल्लो समय सरकारले आफ्नो कामकारबाहीको गतिलाई बढाएको दाबी गर्दै रायमाझीले भने, ‘तीन महिना अघि र अहिलेको सरकारको गति हेर्दा गियर बढाएको छ। सरकारले अहिले पिकअप लिएको छ। म अहिले सरकारको काम गराईबाट खुशी छु।’

पूर्व उपप्रधानमन्त्री समेत रहेका रायमाझीले कम्युनिष्टहरुको आधार भनेको नै संघीयता भएकोले आफूहरु संघीयताको विरोधी नभएको स्पष्ट पारे। 

प्रकाशित: २७ मंसिर २०७५ ११:०१ बिहीबार

नेकपा टोपबहादुर_रायमाझी सरकार