राजनीति

‘मिडिया दलालको कब्जामा’

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले मिडिया बजारलाई पुँजीपति र दलालहरूले कब्जा गरिरहेको आरोप लगाएका छन्। राजधानीमा मंगलबार नेकपानिकट जनता एफएमको उद्घाटन कार्यक्रममा दाहालले बिग हाउसका नाममा मिडिया क्षेत्रमा पुँजीपति र दलालहरूको एकाधिकार कायम भएको आरोप लगाउँदै त्यसलाई तोड्नुपर्ने बताएका हुन्।

‘बिग हाउस मिडिया भनेर ठूलाठूला पुँजीपति र दलालहरूले बजार कब्जा गर्ने जुन परम्परा छ, त्यो एकाधिकारवादी सोच हो,’ दाहालले भने, ‘उनीहरूको एकाधिकार जनतालाई भ्रम दिने खालको भएकाले तोड्नु आवश्यक छ।’ दाहालले दक्षतापूर्वक प्रतिस्पर्धा गरेर बिग हाउसहरूलाई परास्त गर्न जनता एफएमले नयाँ पहल थालेको भन्दै सफलताको कामना गरेका छन्। जनता प्रसारण तथा प्रकाशन लिमिटेडले जनता टेलिभिजन र जनता एमएम सञ्चालन गर्दै आएको छ।

दाहालले आन्दोलनबाट जनमत निर्माण गर्ने प्रक्रियामा आफूहरू धेरथोर सफल भए पनि त्यसलाई राज्य सञ्चालनमा रूपान्तरण गर्ने, परिवर्तन गर्ने र जनतालाई प्रत्यक्ष अनुभूति हुने परिणाम देखाउने कुरामा भने त्यति सफल नभएको बताए। ‘हामीले त्यति राम्रो गर्न सकेका छैनौं। कहीं न कहीं त्यहाँ ठूलो प्रश्नवाचक चिह्न अहिले पनि छ,’ उनले भने, ‘जब परिवर्तनका पक्षधरले राम्रो व्यवस्थापन गर्न सक्दैनन्, चाहे त्यो राज्य सञ्चालनको व्यवस्थापन होस् वा कुनै प्रोजेक्ट सञ्चालनको व्यवस्थापन होस्, आर्थिक एकाइका कुनै पनि क्रियाकलाप सञ्चालन गर्ने काममा उनीहरूले व्यवस्थापकीय क्षमता प्रदर्शन गर्न सकेनन् भने त्यो परिवर्तन दिगो हुँदैन।’

दाहालले विगतमा भएका विभिन्न परिवर्तनकारी आन्दोलन तथा विद्रोहको सफलतापछि सही व्यवस्थापन गर्न नसक्दा राज्य सञ्चालनको जिम्मेवारी पाउँदासमेत दक्षता प्रदर्शन गर्न नसकिएको स्पष्ट पारे। उनले आन्दोलनका बेला देखाएजस्तो दक्षता, इमानदारी र पारदर्शिता शासन गर्ने बेला प्रदर्शन गर्न आफूहरू चुकेको बताए। उनले केही वर्षभित्रै हासिल गरेका राजनीतिक उपलब्धि र वर्षाैं लगाएर प्राप्त गरेको जनमतप्रति दिग्भ्रमित गराई प्रतिगमनतिर जाने अनुभव पनि नेपाली इतिहासले भोगेको बताए।

दाहालले धेरै अप्ठेरोका बीचमा केही समययता प्राप्त राजनीतिक सफलता कसैले दया गरेर वा माया गरेर दिएको नभई लडेर ल्याएको बताए। उनले संविधानसभालाई असफल बनाउने र संविधानसभाबाट गणतन्त्र घोषणा गर्न नदिने खेललाई परास्त गरेको बताए। संविधानअनुसार निर्वाचन हुन नदिने प्रयासलाई असफल पारिदिएको बताए। उनले देशमा सधैं अस्थिरता कायम गर्ने विभिन्न शक्तिकेन्द्रका षड्यन्त्रलाई पनि असफल पारिदिएको बताएका छन्।

प्रकाशित: २७ मंसिर २०७५ ०१:४० बिहीबार

नेपाल_कम्युनिस्ट_पार्टी पुष्पकमल_दाहाल