राजनीति

एसिया प्यासिफिकजस्ता सम्मेलन भइरहनुपर्छः पराराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं–परराष्ट्रमन्त्री  प्रदीप ज्ञवालीले काठमाडौंमा हालै सम्पन्न एसिया प्यासिफिक सम्मेलनले नेपाललाई विश्वमै चिनाएको टिप्पणी गरेका छन्। नेपालको परिचयलाई विश्वमा विस्तार गर्न यस्ता सम्मेलन प्रभावकारी हुने भन्दै यस्ता सम्मेलन भइरहनुपर्ने जिकिर गरेका हुन्। 

परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा ज्ञवालीले भने,‘ एसिया प्यासिफिक सम्मेलनले नेपालको पहिचान विश्वमा बढाएको छ, वास्तवमा यस्ता कार्यक्रम भइरहनु पर्छ।’ सम्मेलनमा उनले मानव तस्करीको अभियोग लागेकी अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाबारे अनुसन्धान जारी रहेको जानकारी गराएका छन्। शेर्पालाई हटाउने निर्णय भइनसकेको उनले बताए।

नेपालले थप पाँच देशका लागि राजदूत सिफारिस गर्ने प्रक्रिया पनि जारी रहेको भनाई उनको थियो। ज्ञवालीले अमेरिका र चीनबीचको व्यापार द्वन्द्वले नेपाल चिन्तित रहेकोसमेत बताएका थिए।

मन्त्रालयले वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनमा २०१७ देखि २०१८ भित्र गरेका वैदेशिक मामिलाका विभिन्न कामहरु समेटिएको छ।

नेपालको छिमेक सम्वन्ध, अन्य मुलुकसँगको सम्वन्ध, राष्ट्रसंघ र दाताहरुसँगको वर्तमान अवस्थाबारे प्रतिवेदनमा उल्लेख गरिएको छ।

परराष्ट्रमन्त्री ज्ञवालीले चीन र भारतसँगको सम्वन्ध सुदृढ भएको र नेपालको अन्तराष्ट्रिय छविलाई अझ उच्च बनाउन सरकार सफल भएको दावी गरे। अमेरिकातर्फ लक्षित गर्दै उनले बहुपक्षीयतावादबाट केही देश विमुख हुन खोजेको उल्लेख गर्दै विश्व व्यवस्थामा अनिश्चितता ल्याएको बताए। जलवायु सम्वन्धि पेरिस सम्झौताबाट केही देशले हात झिक्नु यसको उदाहरण भएको उनको भनाई छ।

 

प्रकाशित: २५ मंसिर २०७५ ११:३२ मंगलबार

परराष्ट्रमन्त्री प्रदीप_ज्ञवाली एसिया_प्यासिफिक_सम्मेलन लक्की_शेर्पा राजदूत