राजनीति

मेरो भ्रमणले नेपाल र भारतको सांस्कृतिक केन्द्रलाई जोड्छः मुख्यमन्त्री योगी

काठमाडौं– भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले विवाह पञ्चमीमा आफू जनकपुर जान प्रतिक्षारत रहेको बताएका छन्। सोमवार लखनऔंमा पत्रकारहरुसँग कुरा गर्दै आदित्यनाथले मंसिर २६ गते विवाह पञ्चमीका लागि आफू जनकपुर जाने जानकारी दिए। 

‘म प्रतिक्षारत छु १२ डिसेम्बर (मंसिर २६ गते) तिथिको। दुबै देशको सहमतिमा म मिथिलाधाममा माँ जानकीको माइतीमा गएर आफ्नो श्रद्धा प्रस्तुत गर्ने प्रयास गर्नेछु’, उनले भने। 

मुख्यमन्त्री योगीले आफ्नो भ्रमण राजनीतिक उद्देश्यले नभई विशुद्ध सांस्कृतिक हुने पनि स्पष्ट पारे। ‘मेरो भ्रमण दुई देशको सांस्कृतिक केन्द्रलाई आपसमा जोड्ने हुनेछ। नेपाल र भारतमा सांस्कृतिक सम्बन्धले महत्व राख्छ’, उनले भने। 
आदित्यनाथ विवाह पञ्चमीका दिन जन्ती बनेर आगामी बुधवार जनकपुर आउँदैछन्। उनको स्वागतको लागि प्रदेश २ सरकार, विभिन्न राजनीतिक दल, मिथिलाबासीले भव्य तयारी गरिरहेका छन्। 

प्रकाशित: २४ मंसिर २०७५ १५:१४ सोमबार

योगी_आदित्यनाथ विवाह_पञ्चमी जनकपुर