राजनीति

साँस्कृतिक र धार्मिक विखण्डनलार्इ कांग्रेसले राेक्छ : नेता पौडेल

धादिङ– नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पार्टी साँस्कृतिक र धार्मिक विखण्डनको पक्षमा नरहेको बताएका छन्। धादिङको बेनिघाट रोराङ गाउँपालिकाको चरौदीमा संचालित कृषि, पर्यटन तथा औद्योगिक मेलाको समापन कार्यक्रममा बोल्दै नेता पौडेलले साँस्कृतिक द्वन्द्वको अवस्थालाई नेपालमा आउन नदिन काँग्रेस प्रतिबद्ध रहेको बताए। 

कुनै पनि धर्म र साँस्कृतिक विखण्डन नगर्न उनले सबैलाई आग्रह समेत गरे। कांग्रेसकै नेतृत्वमा बनेको संविधानले सबै जातिको कदर गरेको उनको भनाई छ। ‘काँग्रेस कुनै जातीय विभेद, धार्मिक विवादमा घचेटिन चाहँदैन’, नेता पौडेलले भने, ‘संविधानले बहुजाती, बहुभाषीको कदर गरेको छ, त्यसैले यो समय आपसमा द्वन्द्व गर्ने बेला होइन, देशको विकास गर्ने बेला हो।’ सत्ताधारीलाई संकेत गर्दै नेता पौडेलले संविधान जसको नेतृत्वमा जारी भएको छ, त्यो संविधान प्रति प्रतिवद्ध रहेको बताए। 

अहिले साँस्कृतिक द्धन्द्ध, भाषिक द्धन्द्धको बेला नभई देशको विकास गर्ने बेला भएको नेता पौडेलले बताए । सरकारले चलाएको ‘सुखी नेपाली, समृद्ध नेपाल’ अभियानलाई समर्थन गर्दै देशको समृद्धि र विकासका लागि नेपाली काँग्रेस प्रतिबद्ध भएको पौडेलको भनाई छ । काँग्रेसको नेतृत्वमा संविधान आएको कुरा स्मरण गराउँदै नेता पौडेलले देशको विकास समृद्धि पनि काँग्रेसलाई नै कुरेर बसेको बताएका छन् । 

सुनकाण्ड, चिनी काण्ड लगायतका भ्रष्टाचारका विषय मौलाउँदै गएको विषयलाई सरकारले ध्यान नदिएको भन्दै उनले कांग्रेसले हरेक विषयमा खबरदारी गर्ने बताए। केपी ओली प्रधानमन्त्री हुँदा म आफू पनि भ्रष्टाचार गर्दिन, अरुलाई पनि गर्न दिन्न भनेका कुरा स्मरण गर्दै पौडेलले देशमा मौलाइरहेको भ्रष्टाचारले सारा नेपालीलाई रुवाइरहेको बताए। देशमा देखा परेको भष्ट्र प्रवृत्तिलाई रोक्न बेलैमा सचेत नभए देश अधोगतितर्फ जाने नेता पौडेलको भनाई छ। 

करिब दुई तिहाईको कम्युनिस्ट पार्टीले सुनौलो अवसरलाई खेर फालेको नेता पौडेलले आरोप लगाए। ‘१० महिना बितिसक्दा पनि सरकारले जनताका मन जित्ने कुनै काम गर्न सकेको छैन’, पौडेलले भने, ‘मुलुकको प्रगतिका लागि ठूलो मौका मिलेको छ, तर यो मौकाको सदुपयोग भयो कि भएन मूल्याङ्कन गर्ने बेला आएको छ।’ देशलाई समृद्धिको बाटोमा पु¥याउने विषयमा सरकार धेरै अल्झेकाले आम जनताले मुख खोल्ने बेला आएको पौडेलले बताए। 

आफूहरु कुनै द्वविधामा नघचेटि समृद्ध नेपालतर्फ लम्कँदै गएको जिकिर गर्दै पौडेलले काँग्रेसको हातमा डाडुपन्यु नभएपनि त्यसलाई प्रयोग गर्ने तरिका बारेमा जानकारी रहेको बताए। कृषि, पर्यटन तथा औद्योगिक मेलाको समापन गर्दै नेता पौडेलले नेपाललाई कृषि प्रधान देश भनेर चिनाउने जिल्ला नै धादिङ भएको बताए। कृषिको क्रान्ति, पर्यटनको विकास र उर्जाको सम्भावनाले भरिपूर्ण भएको जिल्ला बताए। 

प्रकाशित: २३ मंसिर २०७५ १६:०६ आइतबार

नेपाली_कांग्रेस रामचन्द्र_पौडेल