राजनीति

चीनसँगको सम्बन्धलाई भारतविरुद्धको प्रयोगका रुपमा नहेराैं : प्रस्तावित राजदूत आचार्य

काठमाडौं– भारतका लागि प्रस्तावित नेपाली राजदूत निलाम्बर आचार्यले चीनसँगको सम्बन्धलाई भारतविरुद्धको प्रयोगका रुपमा लिन नहुने बताएका छन्। 

संसदीय सुनुवाई विशेष समितिमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै आचार्यले नेपालको चीन र भारतसँगको सम्बन्धलाई एउटै नजरले हेर्न नहुनेमा जोड दिए। ‘नेपालको चीन र भारतसँगको सम्बन्धलाई एउटै नजरले हेर्न हुँदैन्। चीनसँग राम्रो सम्बन्धलाई भारतविरुद्ध प्रयोग गर्ने रुपमा नबुझ्न पनि आग्रह गर्छु’, उनले भने, ‘म यो सन्देश भारतीय नेतृत्वलाई राजदूतका रुपमा प्रस्तुत गर्नेछु।’

नेपाल भारतबीचको सम्बन्धमा उतारचढाव आइरहेको भन्दै आचार्यले दुई देशबीच सीमाना खुल्ला भएतापनि मन भने खुल्ला हुन नसकेको बताए। नेपालको आर्थिक विकास र समृद्धिका लागि भारतसँगको सम्बन्ध सुमधुर र पारस्परिक हुनुपर्नेमा उनले जोड दिए। 

दुई देशबीच सीमा विवाद र विभिन्न भारतीय परियोजनामा ढिलाई लगायतका समस्या रहेकाले यी समस्या समाधानका लागि राजदूतका हैसियतले आफूले पहल गर्ने उनको प्रतिबद्धता छ।

सरकारले आचार्यसहित मलेसिया, इजरायल र यूएईका लागि नयाँ राजदूतको नाम संसदीय समितिमा पठाएको छ। समितिले ४ वटै देशमा प्रस्तावित राजदूतमाथि सुनुवाई गरिरहेको छ। 

प्रकाशित: २३ मंसिर २०७५ ११:०८ आइतबार

निलाम्बर_आचार्य राजदूत भारत