राजनीति

इमरान खानजस्तो प्रधानमन्त्री ‘क्वार्टर’ त्याग्न सक्दिन : ओली

काठमाडौं– प्रधानमन्त्री केपीशर्मा ओलीले देशको वास्तविकतामा आधारित रहेर विकासका गतिविधिलाई अगाडि बढाइने बताएका छन्। 

शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा इन्जिनियरहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले देशले भ्याउने गरी सेवा सुविधा लिने र तीव्र विकास गरिने स्पष्ट पारे। पाकिस्तानका प्रधानमन्त्री इमरान खानको प्रसंग निकाल्दै उनले तलब भत्ता नलिने र निवास नै त्याग्ने कुरा नेपालको सन्दर्भमा अहिले नै लागु गर्न कठिन रहेको सुनाए। 

‘पाकिस्तानमा इमरान खानले सरकारी निवास त्यागेर आफ्नै घरमा बसेको चर्चा यहाँ भइरहेको छ। उनको आफ्नै महल छ, प्रधानमन्त्री क्वार्टरमा बसेनन्, यो राम्रो कुरा हो। तर उनको जस्तै नेपालमा पनि लागु गर्न अहिले नै मिल्दैन’, उनले भने। 

उनले बालकोटस्थित निजी निवास प्रधानमन्त्री बस्नका लागि उपयुक्त नभएको पनि स्पष्ट पारे। ‘सुरक्षाको कुरा छ, बैठकहरु गर्नलाई साँघुरो छ’, उनले भने। आफ्नो घरको कुरा गर्दा ओलीले प्रधानमन्त्री निवासका लागि बालुवाटारमा नै साँघुरो रहेको बताए।

‘मैले इमरान खानबाट सिक्नुपर्छ भनेर केहीले भने। प्रधानमन्त्री निवास त्यागेर मैले कहाँ जाने, जसको काठमाडौंमा घर छैन उ प्रधानमन्त्री भयो भने के गर्ला?’ ओलीले प्रश्न गरे। 

उनले आफू संसारकै कम तलब खाने प्रधानमन्त्री भएको समेत दाबी गरे। ‘इमरान खानले तलबभत्ता त्यागे भन्दैमा मैले पनि त्याग्ने? अस्ती १ लाख डलर पाएको थिएँ। त्यो सरकारी कोषमा हालिदिए। यस्तो पैसा फेरि आयो भने हालौला। तर तलब नै नखाने हो भने म कसरी चल्छु?’ ओलीले प्रश्न गरे, ‘श्रीमतीजीको पेन्सनले अहिले नै प्रधानमन्त्री चलाउन पुग्दैन। संसारकै कम तलब खाने प्रधानमन्त्री हुँ। देशले भ्याउने गरेर थोरै तलब लिइरहेको छुँ।’

प्रधानमन्त्री ओलीले यस्ता कुरामा विवाद गर्न नहुनेमा जोड दिँदै भने, ‘मैले अस्ती केही बुद्धिजिवी (जसले अनर्गल प्रचार गर्छन) तिनीहरुलाई बहस गर्छु भनेको हो। यहाँ त तिललाई पहाड बनाए। मैलै सबैलाई भनेको होइन’, उनले भने। 

सेवा सुविधा वृद्धिको मागसहित आफूलाई ज्ञापनपत्र बुझाउन आइपुगेका इन्जिनियरहरुसँगको कुराकानीमा ओलीले इमरान खानको उदाहरण दिँदै देशको क्षमताले भ्याएअनुसार इन्जिनियरको सेवासुविधा सरकारले वृद्धि गर्ने प्रतिबद्धता जनाएका थिए। उनले इन्जिनियरको न्युनतम पारिश्रमिक तोकिने पनि स्पष्ट पारे। 

‘पोहोर सडकभरी मास्क लाएर हिड्थे, अहिले मास्क लगाउने हराए’

इन्जिनियरहरुसँगको भेटमा प्रधानमन्त्री ओलीले आफूले गरेका कामबारे जानकारी दिँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’बनाउने महाअभियानमा लाग्न आग्रह गरे। उनले गतवर्ष उपत्यकावासी मास्क लगाएर हिड्नुपर्ने तथा मास्क लगाउन स्वास्थ्यकर्मीले उर्दी नै जारी गर्नुपर्ने अवस्था रहेकोमा आफूहरुले हटाएको बताए। ‘पोहोर साल सडकभरी मास्क लगाएर नहिड्ने मान्छे नै थिएनन। मास्क लगाउन उर्दी नै जारी गरिएको थियो। तर आज अवस्था फेरिएको छ। धुलोधुवा हटाउँदै मास्क लगाउन नपर्ने वातावरण सिर्जना गरेका छौं।’ उनले काठमाडौंका सडकमा भएका खाल्डाखुल्डी पुर्ने काम पनि अन्तिम चरणमा रहेको जानकारी गराए।

उनले विगतमा देशभरी वर्षमा तीन वटा मात्रै पुल बन्ने गरेको भन्दै यस वर्ष ३ सय वटा पुलनिर्माण हुनलागेको बताए। ११० वटा तुइन विस्थापित भइसकेको भन्दै ओलीले तीव्र गतिमा काम भइरहेको दाबी गरे।

प्रकाशित: २२ मंसिर २०७५ ११:३० शनिबार

इमरान_खान प्रधानमन्त्री_क्वार्टर केपी_शर्मा_ओली