राजनीति

मुख्यमन्त्री गुरुङले भने : भाञ्जा भाञ्जी को स्वार्थ त्याग्नुपर्छ

पोखरा- मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले केही राजनीतिक दलले भाञ्जा भाञ्जीलाई नागरिकता दिलाउन खोज्दा नागरिकता वितरणमा समस्या आएको बताएका छन्। नागरिकताबाट राजनीतिक, आर्थिक, सामाजिक, लैंगिक स्वार्थ लिन खोज्दा सहजरुपमा नागरिकता लिन सहज नभएको उनले बताए।

बिहीबार पोखरामा एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले भने, ‘हिमाली र तराईमा राजनीति गर्ने नेताहरुले स्वार्थपूर्तिको लागि भाञ्जा भाञ्जीलाई नेपाली नागरिक बनाउने चाहना राख्छन्, सीमित व्यक्तिको स्वार्थपूर्तिको लागि हुने यस्तो कार्य रोकिनुपर्छ।’

पहाडी क्षेत्रमा भने यस्तो समस्या नरहेको बताउँदै गुरुङले हिमाली र तराई क्षेत्रको खुला सीमाना कारण अन्य देशका नागरिकलाई राजनीतिक दलले स्वार्थपूर्ति गर्नको लागि भाञ्जा भाञ्जीको नाता जोडेर नागरिकता दिने गरेको भन्दै कटाक्ष गरे। यस्तो कार्य रोक्न प्रशासनिक तवरबाट पनि स्वविवेक प्रयोग नभएको उनले आरोप लगाए।

नागरिकताको विषयमा प्रदेश सरकारले भने समन्वय मात्र गर्न सक्ने उनले बताए। ‘प्रदेशले संघ र स्थानीय तहबीच पुलको काम गर्ने हो, नागरिकताको बारेमा स्थानीय तह र संघ सरकार नै बढी जिम्मेवार हुन्छन्,’ उनको भनाई थियो।

यस्तै, मुख्यमन्त्री गुरुङले समयानुरुप ऐनहरु पनि परिमार्जन गर्नुपर्ने बताए। कुनै पनि नेपाली नागरिक नागरिकता लिने अधिकारबाट वञ्चित हुन नहुने उनको भनाई थियो। अन्तरजातीय विवाहका कारण सुरुवातमा विवाह दर्ता नगर्ने र पछि घर परिवारले नस्विकार्दा सो दम्पत्तिबाट जन्मेका सन्ततीलाई नागरिकता दिलाउन अप्ठ्यारो हुने गरेको उनले बताए।

गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले राष्ट्रिय परियोजना निर्माणमा व्यक्तिगत घटना दर्ताले सघाउ पुर्‍याउने भन्दै समयमै घटना दर्ता गरे आधा समस्या समाधान हुने बताए।

प्रकाशित: २० मंसिर २०७५ १०:५८ बिहीबार

मुख्यमन्त्री गण्डकी