राजनीति

कांग्रेस केन्द्रीय समिति बैठकमा आर्थिक नीति प्रस्तुत

काठमाडाैं- प्रस्तावित विधान संशोधनका विषयमा केन्द्रित नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राख्नेक्रम जारी रह्यो। 

पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकमा केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की, मानबहादुर विश्वकर्मा, अम्बिका बस्नेत, महेन्द्र यादव, गुरुराज घिमिरे, अमृत अर्याल तथा केन्द्रीय आमन्त्रित सदस्य बालकृष्ण पाण्डेले आ–आफ्नो धारणा राखेका थिए। 

काङ्ग्रेसले पार्टीको विधानलाई सङ्घीय संरचनाअनुसार परिमार्जित गर्न विधान संशोधनको प्रस्ताव तयार गरेको छ। पार्टीको विधान संशोधन मस्यौदा समितिका संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तावित विधानको मस्यौदा यही मङ्सिर ९ गतेको केन्द्रीय समितिको बैठकमा पेश गरेका थिए। 

बुधवारको बैठकमा समग्र आर्थिक नीति प्रस्ताव समितिका तर्फबाट समितिका संयोजक एवम् सहमहामन्त्री डा प्रकाशशरण महतले आर्थिक नीतिको प्रस्ताव केन्द्रीय समितिमा प्रस्तुत गरेका थिए। मङ्सिर १३ गतेदेखि जारी पार्टीको केन्द्रीय समिति बैठकमा उक्त मस्यौदामाथि छलफल जारी छ। अर्काे बैठक बुधबार बिहान ११ बजे बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

प्रकाशित: १९ मंसिर २०७५ १४:०१ बुधबार

नेपाली_कांग्रेस केन्द्रीय_समिति आर्थिक_नीति