राजनीति

‘नेपाल अप्रिलसम्ममा इयुको कालोसूचीबाट हट्ने’

काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)माथि युरोपेली युनियन (इयु)मा कायम रहेको प्रतिबन्ध चाँडै हट्ने दाबी गरेका छन्। 

बुधवार सार्वजनिक लेखा समितिको बैठकमा मन्त्री अधिकारीले हवाई उड्डयन क्षेत्रको विश्वको छाता संगठन (आइका)ले प्रतिबन्ध हटाइसकेको उल्लेख गर्दै इयुले पनि छिट्टै प्रतिबन्ध हटाउने दाबी गरे। ‘कुटनीतिक पहल गरिरहेका छौं’, उनले भने,  ‘मार्च/अप्रिलसम्ममा कालोसूचीबाट हट्छ, प्रतिबन्ध फुकुवा हुन्छ।’ 

युरोपबाट एयरबस खरिद गरेको सुनाउँदै मन्त्री अधिकारीले भने, ‘एयरबस नेपाल आउन पाउने, जान नपाउने? जुन देश(नेपाल)बाट आउन नपाउने भएपछि त्यहाँ किन बेचे त?’ सांसदहरुको प्रश्नको जवाफ दिँदै उनले कुटनीतिक माध्यमबाट प्रतिबन्ध हट्ने र नेपाल एयरलाइन्स युरोप रुट हुँदै कोरिया, जापान र अमेरिकासम्म उड्ने दाबी गरे। आफ्नो मन्त्रालयले आन्तरिक र बाह्य गरी ४९ गन्तव्य तय गरेको र आगामी ४ महिनाभित्र सबै व्यवस्थित गर्ने उनको भनाई छ।

लेखा समितिको बैठकमा सांसदहरुले युरोपमा के कारणले प्रतिबन्ध लाग्यो भनी प्रश्न गरेका थिए। सांसद हृदेयश त्रिपाठीले नेपाल एयरलाइन्सलाई अघि बढाउन इयुको प्रतिबन्ध हटाउनैपर्नेमा जोड दिए। ‘जबसम्म इयुले प्रतिबन्ध हटाउँदैन, तबसम्म नयाँ गन्तव्य पाउँदैन्’, उनले भने, ‘मन्त्रीज्यूले जसरी हुन्छ हटाउनुस्, समितिले जस्तोसुकै सहयोग गर्छ।’ 

प्रकाशित: १९ मंसिर २०७५ १३:२८ बुधबार

नेपाल_एयरलाइन्स कालोसूची इयु