राजनीति

सरकारविरुद्ध आन्दोलन गर्ने बैद्य माओवादीको निर्णय

केन्द्रीय समितिको बैठक निर्णयबारे जानकारी गराउँदै महासचिव मोहन बैद्य ।

रुपन्देही– नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले नयाँ जनवादी क्रान्तिका लागि जनआन्दोलन गर्नुपर्ने निष्कर्षमा पुगेको छ। वर्तमान नेकपाको सरकार नामधारी नव प्रतिक्रियावादी दलाल सरकारको संज्ञा दिँदै क्रान्तिकारीले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका लागि चरणबद्ध रुपमा जनआन्दोलनको तयारीमा जुट्ने बताएको हो। मंसिर १२ देखि १७ गतेसम्म बुटवल ढवाहमा सम्पन्न भएको केन्द्रीय समिति बैठक निर्णय मंगलबार सार्वजनिक गर्दै महासचिव मोहन बैद्यले सरकारले महंगी, करबृद्धि, हत्या हिंसा नियन्त्रण गर्न नसकेकाले सरकारविरुद्ध आन्दोलनमा उत्रने बताए।

दुई तिहाईको बहमुतको सरकारले समृद्ध नेपाल, सुखी नेपाली भन्ने नाराको धज्जी उडाएको उनको आरोप छ। ‘यो न बाम न कम्युनिस्ट सरकार हो’, उनले भने, ‘निजीकरण र उदारीकरणको आहालमा डुबेर समावाद आउँदैन।’ उनले केपी ओली नेतृत्वको सरकारलाई संसदीय भुलभलैया भएको भन्दै यो सरकारबाट विकासको आश गर्न नसकिने बताए। उनले जनआन्दोलन र जनयुद्धबाट सत्तामा गएर सहिद र जनताका मुद्दा बिर्सिएको टिप्पणी गरे। 

उनले राष्ट्रवादीको नाराले चुनाव जितेका ओली प्रचण्डले भारतले बनाएको नक्सा झुन्ड्याएर बसेको बताए। कालापानी, सुस्ता, महेशपुर सहितका देशका विभिन्न ठाउँमा भारतले सीमा मिच्दा पनि सरकार बोल्न नसकेको उनको भनाई छ। ‘नेपालको झन्डै १० हजार जमिन गायब भएको छ, खोई यो बिषयमा सरकार बोलेको’, उनले प्रश्न गरे। 

निर्मला पन्तको बलात्कारी पक्राउ गर्न नसक्ने सरकारबाट धेरै आशा गर्न नसक्ने उनको टिप्पणी छ। संघीयताको अवज्ञा, करबृद्धि, महंगी, भ्रष्टाचार र असुरक्षा बढ्दै जाँदा सरकार रमिते मात्रै बनेकोमा उनले आपत्ति जनाए। 

उनले अहिलेको संघीयताका लागि लडाईं नलडेको बताउँदै यसले जनतालाई केहि पनि नदिने बताए। राजनीतिक परिवर्तनका लागि घाइते भएका जनमुक्ति सेना र सहिद वेपत्ता परिवारलाई सम्बोधन नगरी शान्तिप्रक्रिया टुंगियो भन्न नमिल्ने उनको तर्क छ। संगठन र संघर्षलाई अगाडि बढाउने निर्णय गरेको छ। चरणबद्ध रुपमा राष्ट्रियता, जनजीविका र जनतन्त्रका बिषयमा आन्दोलन गर्नका लागि कार्यक्रम समेत बनाएको छ। देशव्यापी रुपमा संघर्षका बिषयमा गोष्ठी, अन्तरक्रिया, भित्तेलेखन लगायतका प्रचारात्मक कार्यक्रम गर्ने पत्रकार सम्मेलनमा महासचिव वैद्यले प्रस्तुत गरेको विज्ञप्तिमा उल्लेख छ। फागुनमा १९५० ताकाका असमान सन्धि सम्झौताहरुको खारेजी, सीमा अतिक्रमण, नक्कली नक्सा, भारतले मिचेका सीमाका बिषयमा राष्ट्रिय स्वाधिनता रक्षा गर्न मेची महाकाली जनजागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। 

साझा मुद्दा र राजनीतिक शक्ति तथा पक्षसँग मिलेर संघर्ष चलाउने महासचिव किरणले बताए। प्रदेश, जिल्लामा भ्रष्टचार, बलात्कार, हत्या, ठगी, जालझेल, शोषणविरुद्ध पनि संघर्ष गर्ने केन्द्रीय समिति बैठकले निर्णय गरेको छ। बैठकमा महासचिव वैद्यले प्रस्तुत गरेको ६ पृष्ठ लामो प्रस्ताव संशोधनसहित पारित गरेको छ। बैठकमा केन्द्रीय सदस्यहरु र सल्लाहकार गरी ८० जनाको सहभागिता थियो।

प्रकाशित: १८ मंसिर २०७५ १३:५८ मंगलबार

बैद्य_माओवादी सरकार आन्दोलन