राजनीति

बाजुराबाट १२ जना नेकपाको प्रदेश सदस्य, हस्ती नै कमिटीमा परेनन्

बाजुरा- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदुरपश्चिम प्रदेश कमिटीमा बाजुराबाट १२ जना परेका छन्। सुदुरपश्चिम प्रदेश कमिटीले सार्वजनिक गरेको सूचीमा सदस्यका लागि पूर्व एमालेबाट ७ जना र माओवादीबाट ५ जनाको नाम परेको छ।

पूर्व एमालेको तर्फबाट जिल्ला अध्यक्ष कालीबहादुर शाही, पूर्व सभासद बसुन्धरा रोकाया, अञ्चल सदस्य अजबहादुर मल्ल, रंगमान शाही, प्रदेश सभा सदस्य बल्देव रेग्मी, जिल्ला कमिटी सचिवालय सदस्य चन्द्रबहादुर थापा र पूर्व काँग्रेस जिल्ला सभापति मनबहादुर रावलको नाम परेको छ।

पूर्व एमालेबाट सिफारिस गर्नु पर्ने १ सय जना सदस्य मध्ये कालीबहादुर शाहीको नाम १४ नम्बरमा सिफारिस भएको छ। भने बसुन्धरा रोकायाको १५ नम्बर वरियता नाम राखिएको छ। यस्तै ४५ नम्बरमा अजबहादुर मल्ल, ६३ मा रंगमान शाही, ६६ मा बल्देव रेग्मी, ९२ मा चन्द्र बहादुर थापा र ९५ मा मनबहादुर रावलको नाम राखिएको छ। रावलको नाम नवप्रवेशीको रुपमा थपिएका ८ जना मध्ये तेस्रो स्थानमा राखिएको छ।

एमालेको तर्फबाट अछाम जिल्ला कमिटी पूर्व अध्यक्ष शेरबहादुर कुँवर पहिलो र साँफे बगर नगरपालिका प्रमुख कुलबहादुर कुँवर दोस्रो वरियतामा परेका छन्। पूर्व अर्थ राज्य मन्त्री दामोदर भण्डारीको नाम भने १७ स्थानमा राखिएको छ।

यस्तै पूर्व माओवादीबाट मनबलाल खत्री, पूर्व राज्य मन्त्री कर्णबहादुर विक, जिल्ला सचिव देवीचन्द्र बुढा, सुरेश रोकाया र कमल कुमारी शाहको नाम सिफारिस गरिएको छ। ८३ जना सदस्य पाएको माओवादीको वरियतामा मनलाल खत्री १३ नम्बरमा छन् भने पूर्व राज्य मन्त्री समेत रहेका कर्णबहादुर विक ५० नम्बरको वरियतामा परेका छन्।

जिल्ला सचिव समेत रहेका देवीभन्द्र बुढा ७३ स्थानमा रहँदा सुरेश रोकाया ७७ र कमल कुमारी शाह ८० औं स्थानमा छन्। माओवादीले पनि कैलालीका गौरी शंकर चौधरीलाई पहिलो नम्बरमा राखेको छ। बाजुरा जिल्ला इन्चार्ज समेत रहेका सहदेव बोगटीको भने प्रदेश सदस्यको सूचीमा नाम छैन्।

केन्द्रीय सदस्यका लागि नै लागेका बोगटी जिल्लाबाट नाम सिफारिस गर्ने समितिको आफै संयोजक थिए। प्रदेश कमिटीमा बस्न नचाहेकै कारण बोगटीले आफ्नो नाम सिफारिस नगरेको श्रोतको दाबी छ।

हस्तीहरु नै अटाएनन

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) सुदुरपश्चिम प्रदेश कमिटीमा जिल्ला तहका शिर्ष नेताहरु नै अटाएका छैनन्। दुबै पार्टीमा जिल्ला तहको राजनीतिमा शिर्ष स्थानमा रहेका हिक्मत बहादुर शाही, दयाल बहादुर शाही, महेश शाही, विनिता विक सहीतका एक दर्जन बढी नेताहरु प्रदेश सदस्यको सूचीबाट बाहिरिएका छन्।

पूर्व एमालेबाट २०५१ सालमा सांसद समेत बनेका र सेती अञ्चल सदस्य समेत भईसकेका हिक्मतबहादुर शाही, केन्द्रीय स्कुल विभागका सदस्य दयालबहादुर शाही, अञ्चल सदस्य रामलाल कार्की, मिनबहादुर विष्ट, नन्दबहादुर शाही सहीतका नेताहरुलाई पूर्व एमालेले प्रदेश सदस्यमा नाम प्रदेश सदस्यमा सिफारिस गरिएको छ।

पूर्व एमालेबाट प्रदेश सदस्य हुनै पर्ने मध्येबाट हिक्मत शाही र दयाल शाहीलाई अन्याय गरिएको कार्यकर्ताबाटै गुनासो आउन थालेको छ। पूर्वाग्रही रुपमा योजनावद्ध प्रदेश सदस्य हुनबाट शाहीद्धयलाई रोकिएको पूर्व एमालेवृतमै चर्चा चल्ने गरेको छ।

यता पार्टी उपाध्यक्ष समेत रहेका र युवाको माझमा लोकप्रिय महेश शाही, अखिल महिला क्रान्तिकारीका केन्द्रीय सदस्य तथा जिल्ला पार्टी कोषाध्यक्ष विनीता विकलाई समेत प्रदेश कमिटीमा लगिएको छैन। केही व्यक्तिहरुको पूर्वाग्रही सोचका कारण कमिटीमा सिफारिस नगरिएको लेखक तथा विश्लेषक समेत रहेका दयालबहादुर शाहीले प्रतिक्रिया दिएका छन्।

प्रकाशित: १८ मंसिर २०७५ १२:३० मंगलबार

नेकपा प्रदेश कमिटी