राजनीति

‘बुलेटमाथि ब्यालेटको सर्वाेच्चता’

काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको पछिल्लो राजनीतिक परिवर्तन ‘महान उपलब्धि’ भएको बताएका छन्। युनिभर्सल पिस फेडेरेसनको आयोजनामा शनिबार काठमाडौंमा सुरु भएको दुईदिने एसिया प्यासिफिक समिट–२०१८ उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालले विविधखाले चुनौतीलाई पछि पार्दै शान्तिप्रक्रिया सफल पारेको र त्यसकै माध्यमबाट महान् राजनीतिक उपलब्धि हासिल गरेको बताएका हुन्।

‘नेपालजस्तो विविधता भएको समाजलाई पनि छलफल, समझदारी, पारस्परिक सम्मान र त्यागमार्फत एकै ठाउँमा ल्याउन सकिन्छ भन्ने उदाहरण पेस गरेर ऐतिहासिक सफलता हासिल गर्न सफल भयौं,’ प्रधानमन्त्री ओलीले भने, ‘सशस्त्र संघर्षलाई सफलतापूर्वक समाधान गर्न सकिन्छ र बुलेटमाथि ब्यालेटको सर्वाेच्चता कायम गर्न सकिन्छ भन्ने स्थापित गरेर देखायौं।’

प्रधानमन्त्री ओलीले नेपालको शान्तिप्रक्रिया द्वन्द्वग्रस्त अन्य मुलुकका लाग पनि अनुकरणीय हुनसक्ने बताए। उनले भने, ‘हामीले निर्वाचित जनप्रतिनिधिबाट संविधान लेख्ने ऐतिहासिक जिम्मेवारी पूरा गरेका छौं। हाम्रो संविधान विश्वकै उत्कृष्ट संविधानमध्येको एक हो भन्न पाउँदा हामी गर्व महसुस गर्छौं।’

नेपालका जनताले बनाएको संविधान वास्तवमै सार्वभौम रहेको उल्लेख गर्दै ओलीले भने, ‘म दाबीका साथ के भन्छु भने अब राजनीतिक अधिकारका लागि नेपाली जनताले संघर्ष गर्नुपर्ने छैन, यो नेपाली जनताका लागि नयाँ युगको सुरुवात हो।’

ओलीले सामाजिक तथा आर्थिक क्षेत्रको विकासबिना प्राप्त राजनीतिक उपलब्धि दीर्घकालीन नहुने भएकाले सरकारले दु्रत र दीर्घकालीन आर्थिक विकासलाई प्राथमिकता दिएको बताए। ‘गत वर्ष सम्पन्न तीन तहका निर्वाचनले नेपालमा राजनीतिक अस्थिरता अन्त्य गरिदिएको छ, मुलुक राजनीतिक स्थिरतासहित नयाँ युगमा प्रवेश गरेको छ,’ ओलीले भने। शान्ति, स्थायित्व, प्रजातान्त्रिक र समृद्ध नेपालको लक्ष्यमा पुग्न मित्रराष्ट्र तथा शुभेच्छुकको सहयोग र सद्भाव आवश्यक रहेको पनि उनले बताए।

प्रधानमन्त्री ओलीले नेपाल र हिमवत् खण्ड प्राचीन ज्ञान र व्यावहारिक ज्ञानको मुख्य स्रोत भएको बताए। ज्ञानको ज्योति पहिलोपटक एसिया प्रशान्त क्षेत्रमा फैलिएको भन्दै ओलीले एसियाली मूल्यमान्यता र विरासतलाई एक पुस्ताबाट अर्काे पुस्तामा हस्तान्तरण गर्न पाउँदा गर्व महसुस हुने बताए।

विश्व जलवायु परिवर्तन, प्राकृतिक र मानव सिर्जित विपत्ति तथा आतंकवादजस्ता समस्याबाट घेरिँदै गएको उल्लेख गर्दै ओलीले पृथ्वीको बिग्रँदो अवस्थाप्रति सबैको ध्यान जानुपर्नेमा जोड दिए। उनले जलवायु परिवर्तन मुख्य चुनौती बनेको र यसले हिमाली क्षेत्र र साना टापु मुलुकमा मानव जीवनको अस्तित्वमाथि नै संकट उत्पन्न गराएको बताए।

शान्ति र विकास सिक्काका दुई पाटा : सुकी
उद्घाटनसत्रमा म्यानमारकी स्टेट काउन्सिलर आङसाङ सुकीले शान्ति र विकास सिक्काका दुई पाटा भएको बताइन्। उनले विश्वले दैनिक विपत्ति, आतंकवाद, भोकमरी, बसाइँसराइ, अन्याय जस्ता चुनौतीहरु सामना गरिरहेकाले यस्ता समस्याबाट मुक्ति पाउन सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिइन्। उनले सूचनाप्रविधिको विकास र विश्वव्यापीकरणले समस्या पहिचान र समाधानमा सहयोग पुग्ने बताइन्। उनले म्यानमार र नेपाल विभिन्न किसिमका चुनौतीबाट गुज्रिरहेको भन्दै चुनौतीलाई अन्तरनिर्भरता र पारस्परिक समृद्धिका माध्यमबाट समाधान गर्न सकिने बताइन्।

विश्वव्यापी चुनौतीको समाधान आवश्यक : सेन
कम्बोडियाका प्रधानमन्त्री हुन सेनले हाल विश्वले व्यापार युद्ध, गरिबी, आतंकवाद, जलवायु परिवर्तन, खाद्य असुरक्षा, सैन्य प्रतिस्पर्धाजस्ता चुनौती भोगिरहेको बताए। उनले यस्ता चुनौती समावेशी र बृहत ढंगले सम्बोधन गर्नुपर्नेमा जोड दिए।

भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडाले आतंकवाद र जलवायु परिवर्तन वर्तमान विश्वका चुनौती भएकाले विश्वव्यापी रूपमा नै समाधानका लागि पहल गरिनुपर्ने आवश्यकता औंल्याए। पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफ राजा गिलानीले विश्व परिवर्तनको चरणमा रहेको चर्चा गर्दै पाकिस्तानले आतंकवाद र अतिवादको विरोध गरिरहेको बताए।

युनिभर्सल पिस फेडरेसन (युपिएफ) कि संस्थापक हाक जा हान मुनले समाजिक मूल्यमान्यतालाई एसियाली महिलाले जोगाउँदै आएको दाबी गर्दै परिवार विखण्डन हुन नदिन हरेक व्यक्तिको भूमिका महत्वपूर्ण हुने बताइन्। युपिएफ इन्टरनेसनलका अध्यक्ष थोमस जी वाल्सले वर्तमान विश्वका चुनौती समाधान गर्न यस किसिमका शिखर सम्मेलन गर्दै आएको र पछिल्लो संस्करण नेपालमा गर्न पाउँदा आफू उत्साहित भएको बताए।

कार्यक्रमलाई रिपब्लिक अफ नाउरुका राष्ट्रपति बारोन वाका, फिलिपिन्सकी उपराष्ट्रपति मारिया लियोनोर रोब्रेदो, सामोआका राज्यप्रमुख अफिओगा तुइमाले अलिफानो भालेटोआ, टुभालुका महाराज्यपाल सर लाकोबा टाइयाल टालेलील सम्बोधन गरेका थिए। कार्यक्रममा सम्मेलन आयोजक समितिका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विश्वभरका नेतालाई नेपालमा स्वागत गर्न पाउँदा आफू गौरवान्वित भएको बताए।

समिटको दोस्रो दिन आइतबार ‘वर्तमान समयमा जलवायु परिवर्तन गम्भीर चुनौती’ तथा ‘वर्तमान समयका चुनौती सम्बोधनमा सञ्चारमाध्यमको भूमिका’ लगायत विषयमा छलफल हुने फेडेरेसनले जनाएको छ। सम्मेलनमा शान्ति विकास, सुशासन र सांसदको भूमिका, अन्तरधार्मिक संगठन र नागरिक समाजको भूमिकालगायत विषयमा छलफलका लागि फरकफरक सत्रको आयोजना गरिने जनाइएको छ। कार्यक्रममा सहभागी हुन ४५ मुुलुकबाट एक हजार पाँच सय पाहुना काठमाडाैं आएका छन्।

प्रकाशित: १६ मंसिर २०७५ ०१:२८ आइतबार

नेपालको_शान्तिप्रक्रिया प्रधानमन्त्री_केपी_शर्मा_ओली