राजनीति

आतङ्कवाद विश्व शान्तिका लागि चुनौती : देवेगौडा

काठमाडौं - भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडाले आतङ्कवाद सम्बन्धी समस्या अन्तर्राष्ट्रिय कानून अनुसार समाधान गरिनुपर्नेमा जोड दिएका छन्।

एसिया प्रशान्त शिखर सम्मेलनलाई शनिबार सम्बोधन गर्दै उनले आतङ्कवाद विश्व शान्तिका लागि सबैभन्दा ठूलो चुनौतीका रुपमा देखा परेको बताए। आतङ्कवाद मानव अधिकार उल्लङ्घनको विषय भएको बताउँदै देवेगाैडाले आतङ्कवादीलाई ‘बहादुर व्यक्तिका’ रुपमा हेरिन नहुनेमा जोड दिए। उनले भने, “राज्यबाट आतङ्कवाद संरक्षित हुनुहुन्न र आतङ्कवादलाई राज्यले गर्ने सहयोग रोकिनुपर्छ। यस्ता समस्या अन्तर्राष्ट्रिय कानूनअनुसार समाधान गरिनुपर्छ।”

वर्तमान र भविष्यका पुस्ताको सुरक्षाका लागि शान्ति अन्तरसम्बन्धित कुरा भएको र यसलाई साधारण र सरल बनाउनुपर्नेमा जोड दिँदै उनले शान्ति सर्वकालिक हुनुपर्ने र यो एक पुस्ताबाट अर्को पुस्तामा पुग्नुपर्ने बताए। उनले भने, “भारतमा प्रकृतिलाई आमा मानिन्छ। प्राकृतिक स्रोत प्राणीको आवश्यकताका लागि पर्याप्त छ तर लालचका लागि पर्याप्त छैन। मौसम परिवर्तनका असर कम गर्न भारत वचनबद्ध छ।” उनले खाद्य सुरक्षा र बाँच्न पाउने अधिकारको सुरक्षामा जोड दिँदै विश्वका प्रत्येक नौ व्यक्तिमा एक भोका भएको र उनीहरुको खाद्यमा पहुँच पर्नुपर्ने बताए। रासस 

प्रकाशित: १५ मंसिर २०७५ ०८:३६ शनिबार

भारत एचडी_देवेगौडा एसिया_प्रशान्त_शिखर_सम्मेलन