राजनीति

राष्ट्रपति भण्डारी पोल्याण्ड प्रस्थान

पोल्याण्डतर्फ प्रस्थान गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिदाई गर्दै उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिरः रासस

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डमा हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिको २४औं सम्मेलनमा सहभागी हुन शनिबार त्यसतर्फ प्रस्थान गरेकी छिन्। पोल्याण्डको कातोबीचे शहरमा हुने उक्त सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी आज त्यसतर्फ प्रस्थान गरेकी हुन्।

भ्रमणमा वन तथा वातावणमन्त्री शक्तिबहादुर बस्नेतसहितको टोली सहभागी छ। राष्ट्रपति भण्डारीले सोमबार जलवायु परिवर्तनसम्बन्धी सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ। त्यसअघि आइतबार उनले पोल्याण्डमा रहेका नेपालीलाई सम्बोधन गर्नेछिन्। उनले बिदाइ गर्न उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री तथा मन्त्रीलगायत उच्च सरकारी अधिकारी र सुरक्षा प्रमुख त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा पुगेका थिए। सो क्रममा नेपाली सेनाको एक टुकडीले राष्ट्रपति भण्डारीको सम्मानमा २१ तोपको सलामी अर्पण गरेको थियो।

परराष्ट्र मन्त्रालयका अनुसार सोमबार नै राष्ट्रसङ्घीय महासभाका अध्यक्ष मारिया फरनान्डा इस्पिनोसा ग्रासेसले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। राष्ट्रपति भण्डारी र पोल्याण्डका राष्ट्रपति एन्ड्रेजी सेबेस्टेन डुडाबीच आगामी मङ्गलबार द्विपक्षीय भेटघाट हुने जनाइएको छ। राष्ट्रपति भण्डारी यही मङ्सिर २० गते स्वदेश फर्कने कार्यक्रम छ।

जलवायु परिवर्तनसम्बन्धी राष्ट्र सङ्घको संरचना महासन्धि (युएनएफसिसिसी) का पक्षको २४ औं सम्मेलन (कोप २४) पोल्याण्डको कातोबीचेमा मङ्सिर १६ देखि २८ गतेसम्म आयोजना हुँदैछ। विश्वका १९६ मुलुकका करिब ३० हजार व्यक्तिले भाग लिने सो सम्मेलनलाई जलवायु परिवर्तनसम्बन्धी विश्वस्तरीय मेलाका रुपमा लिइएको छ।

उपराष्ट्रपतिलाई जिम्मेवारी
राष्ट्रपति भण्डारी आज औपचारिक भ्रमणको सिलसिलामा पोल्याण्डतर्फ प्रस्थान गरेकाले उनको अनुपस्थितिमा संविधानबमोजिमका कार्यको जिम्मेवारी उपराष्ट्रपति नन्दबहादुर पुनलाई दिइएको छ। राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी राष्ट्रपतिले तोक्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता छवीन्द्र पराजुलीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।   (रासस)

प्रकाशित: १५ मंसिर २०७५ ०७:२७ शनिबार

राष्ट्रपति विद्यादेवी_भण्डारी पोल्याण्ड जलवायु_परिवर्तन