राजनीति

न्याय माग्दा हिरासत

काठमाडौं – कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तलाई बलात्कार गरी हत्या गर्नेलाई कानुनी दायरामा ल्याई कारबाही गर्न माग राखेर राजधानी सहर काठमाडौमा पोस्टर टास्दै गरेका सामाजिक अभियन्तालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी सिंहदरबार वृत्तबाट खटिएको टोलीले १२ जनालाई पक्राउ गरेको हो। निर्मलालाई न्याय माग्दा पक्राउ पर्नेमा प्रितम सुवेदी, भावना राउत, सिर्जना विश्वकर्मा, छवि पंगेनीलगायत छन्। प्रहरी हिरासतमा राखिएका बेला उनीहरूलाई पत्रकार र वकीलसँग पनि भेट्न नदिइएको भन्दै सर्वत्र विरोध गरिएको छ।

माइतीघर मण्डलाबाट पक्राउ गरिएका उनीहरुलाई शुक्रबार साँझ छोडिएको प्रहरीले जनाएको छ। बलात्कारपछि हत्या गरिएकी निर्मलाको तस्बिरसहितका पोस्टर टाँसेर न्याय माग गरिएको सामाजिक अभियन्ताले बताएका छन्। न्यायका लागि सरकारलाई दबाब दिन आफूहरू पछि नपर्ने पनि उनीहरूले बताए।

सामाजिक सुरक्षा कोष शुभारम्भ कार्यक्रमको प्रचारका लागि सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिरअंकित पोस्टर काठमाडौंका सार्वजनिकस्थलमा टाँगिएपछि सामाजिक अभियन्ताले पनि निर्मलाको तस्बिरअंकित पोस्टर टाँसेका थिए। काठमाडौंका विभिन्न स्थानमा ओलीकै तस्बिरअंकित पोस्टरमुनि बुधबार राति टाँसिएका निर्मलाका तस्बिर प्रहरीले बिहीबार दिउँसो हटाएको थियो। निर्मलाको तस्बिरसहित ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएका पोस्टर टाँसिएपछि सरकार रुष्ट बनेको थियो।

प्रहरीले सामाजिक अभियन्ताले टाँसेका पोस्टर बिहीबार हटाए पनि शुक्रबार फेरि विद्यार्थी तथा सामाजिक अभियन्ताले पोस्टर टाँसेका छन्। प्रहरीले निर्मलाको तस्बिरअंकित पोस्टर च्यातेपछि पूर्वप्रधामन्त्री डा. बाबुराम भट्टराईसहित समाजका अगुवाले विरोध गरेका छन्। ‘सरकार किन यसरी विक्षिप्त बन्दैछ ? आफ्नै छायाँदेखि किन डराउँदैछ सरकार ? सरकारले पोलहरूमा पोस्टर टाँस्न पाउने तर जनताले नपाउने भनेर संविधान र कानुन–नियममा कहाँ लेखिएको छ ? विधिको शासन भनेको कानुनको नजरमा सबै समान भनेको हैन ?’ भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्।

प्रकाशित: १५ मंसिर २०७५ ०१:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App