राजनीति

नेकपा सचिवालय बैठक : प्रदेश कमिटी सदस्यको नाम टुङ्गो लाग्यो

काठमाडाैं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले लामो समयपछि सातै प्रदेश कमिटीका सदस्यको नाम टुङ्गो लगाएको छ।  

प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार साँझ बसेको बैठकले सातै प्रदेश कमिटी एकीकरणको टुङ्गो लगाएको र नामावली भने बिहीबार सार्वजनिक हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। बैठकले यसअघि नै प्रदेश कमिटीका अध्यक्ष, सचिव, इञ्चार्ज र सहइञ्चार्ज तोकिसकेको छ। 

आगामी अर्काे बैठकमा केन्द्रीय समितिका सदस्यको कार्यविभाजन, जनवर्गीय सङ्गठनको एकीकरण र जिल्ला समितिका मुख्य नेतृत्वको चयनको प्रक्रिया अगाडि बढाइने प्रवक्ता श्रेष्ठले जानकारी बताए। अर्काे बैठकको मिति भने तय भएको छैन। 

यसअघि मङ्गलबार बोलाइएको बैठक योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमका कारण स्थगित भएको थियो। पार्टी एकता भएको लामो समय भए पनि अझै तल्लो तहसम्म एकता हुन सकेको छैन। पार्टीमा तल्लो तहसम्मको एकता प्रक्रियाले गति नलिएको, स्थायी कमिटीको बैठक नबसेको तथा सरकार र दलबीच समन्वय नभएको विषयमा आवाज उठ्दै आएको छ। रासस

प्रकाशित: १२ मंसिर २०७५ १५:५४ बुधबार

नेकपा प्रदेश_कमिटी सचिवालय_बैठक