राजनीति

सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागु हुन्छ : मन्त्री ज्ञवाली

फाइल तस्बिर

काठमाडाैं - परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले अब सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागु गर्ने तयारी गरेको बताएका छन्। गुल्मीको हुँगाकी मृगौला पीडित १३ वर्षीया बालिका बन्दना भण्डारीलाई उपचारकालागि उठाइएको सहयोग रकम हस्तान्तरण गर्न प्रदेश पाँच पत्रकार समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले अहिले २५ जिल्लामा मात्रै लागु भएकाे यो कार्यक्रम चाँडै देशभरका सबै जिल्लामा लागु हुने जानकारी दिए।

मन्त्री ज्ञवालीले हालै सरकारले ३५ लाख श्रमिकको हितकालागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सार्वजनिक गरेको प्रष्ट पारे। स्वास्थ्य बीमा कार्यक्रम लागु भएपछि यसले मृत्युलाई जित्न नसकिए पनि अकालमा पैसा अभावले ज्यान गुमाउनु पर्ने बाध्यताको अन्त्य गर्न सहयोग हुने उनले बताए। यस्ता कार्यले आम मानिसको जीवनस्तर माथि उठाउन र सरकारले परिकल्पना गरेको समृद्ध नेपाल बनाउन थप सहयोग पुग्ने मन्त्री ज्ञवालीले विश्वास व्यक्त गरे।

सरकारका काम कारबाही बारे नकारात्मक टिका टिप्पणीहरुमात्रै बढी भएको बताउँदै उनले भने ‘सरकारले कामै गरेन भनेर टिप्पणी गर्नु स्वागत योग्य कुरा भएपनि सकारात्मक कामको पनि मुल्यांकन गर्नुपर्छ।’

कार्यक्रममा मन्त्री ज्ञवालीले हुँगाकी १३ वर्षीया बालिका भण्डारीलाई उपचारका लागि दुबईमा संकलन गरिएको २ लाख ८ हजार ५ सय रुपैयाँ उपचारका लागि सहयोग हस्तान्तरण गरेका थिए।

प्रकाशित: १२ मंसिर २०७५ ०७:४२ बुधबार

परराष्ट्रमन्त्री प्रदीप_ज्ञवाली